निजगढ,हरितालिका तीज पर्वको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन निजगढले मंगलवार निजगढ नगरपालिका वडा नम्बर ४ स्थित मानव सेवा घरमा बस्दैआएका अशक्त, अनाथ र बेवारिसे मानिसहरुको लागि निःशुल्क भोजनको व्यवस्था गरेको छ ।
सो अवसरमा सेवा घरमा बस्दैआएका २ दर्जनभन्दा बढीलाई विभिन्न परिकारहरु दिइनुको साथै नगद रुपैया पनि सहयोग गरिएको राप्रपा निजगढ नगर अध्यक्ष खडगप्रसाद उप्रेतीले जानकारी दिनुभयो ।राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन निजगढकी अध्यक्ष गीता भट्टराईको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टीकी पूर्व केन्द्रीय सदस्य सावित्री देवी भारतीलगायत सेवा घरमा बस्दैआएकाहरुलाई भोजन र नगद वितरण गर्नुभएको थियो ।
कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य विनोद भारती, राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी केन्द्रीय सदस्य शेषा सापकोटा, राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन बारा जिल्ला उपाध्यक्ष रेणु क्षेत्री, जिल्ला सचिव सीताकुमारी उप्रेती, राप्रपा बारा क्षेत्र नम्बर १ क का अध्यक्ष भक्त दर्लामी, राष्ट्रिय प्रजातन्त्र पार्टी निजगढ नगर अध्यक्ष खड्गप्रसाद उप्रेती, नगर प्रवक्ता केशव राउत, युवक संगठनका निजगढ नगरका अध्यक्ष क्रान्ति दाहाललगायतको उपस्थिति रहेको थियो ।भोजनपछि सेवा घरमा तीज गित र नृत्य पनि प्रस्तुत गरिएको थियो ।
त्यसैगरी नेपाली कांग्रेस पार्टी निकट महिलाहरुले पनि मंगलवार निजगढ उद्योग बाणिज्य संघको सभा हलमा तीज कार्यक्रमको आयोजना गरेका छन । कांग्रेस निजगढ नगर सभापती नवराज तिमल्सिनाको अध्यक्षतामा भएको सो कार्यक्रममा महिलाहरुले गित र नृत्य प्रस्तुत गर्नुको साथै सामुहिक भोजनसमेत गरेका थिए ।


















