रौतहट,रौतहटको कटहरियामा दुई युवा समूहबिच ग्याङ फाइट हुँदा तीनजना गम्भीर घाइते भएका छन् । बुधवार राति करीब ८ बजे कटहरिया नगरपालिका भवन छेउमा विवेक जैसवाल र अन्जिकुमार साह नेतृत्वको युवा समूहबीच ग्याङ फाइट भएको थियो ।ग्याङ फाइटमा फलामको रड, कैँचीलगायत घरेलु हतियारको प्रयोग गरिएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । ग्याङ फाइटमा २० वर्षीय विवेक जैसवाल घाइते भएका छन । उनको पछाडिबाट घाँटीमा कैँची प्रहार भएको थियो । त्यस्तै अर्को समूहका अन्जितकुमार साह र महेश कुशवाहा टाउकोमा फलामको रड प्रहारबाट घाइते भएका छन् ।उनीहरूको कटहरियामा सामान्य उपचारपछि थप उपचारको लागि राति नै वीरगञ्ज पठाइएको छ । घाइतेहरूको वीरगञ्जस्थित सूर्या अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सूर्या अस्पतालका डा. सरोजकुमार सिंहले घाइतेहरू खतरामुक्त रहेको बताउनुभएको छ ।आइतवार साँझ छठ पर्वको अवसरमा पूजा गर्न जाँदा कटहरिया– ५ लालबकैया नदी किनारमा विवेक र अन्जितबिच सामान्य भनाभन भएको थियो । त्यसको भोलिपल्ट गत सोमवार पिकनिक मनाउन जाँदा पनि उनीहरू बीच पुनः भनाभन भएको थियो । सोही विषय लिएर बुधवार साँझ दुवै समूह बीचको विवाद ग्याङ फाइटमा परिणत भएको इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई रामाछवेला यादवले जानकारी दिनुभयो ।
घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ ।

















