बसन्त लामा
सिंगौल,निजगढ नगरपालिका वडा नम्बर १ को वनस्थली हाटबजारमा १६ कोठे ट्रस्ट निर्माण शुरु भएको छ ।
चालु आर्थिक वर्ष २०८०÷८१ मा निजगढ नगरपालिकाको वडा नम्बर स्तरीय बजेटबाट उपभोक्ता समितिको अगुवाइमा ट्रस्टको निर्माण कार्य शुरु भएको हो ।वडा कार्यालयले विनियोजन गरेको ९ लाख बजेटबाट १६ कोठे ट्रस्ट निर्माण कार्य शुरु गरिएको उपभोक्ता समितिका अध्यक्ष हस्तबहादुर ब्लोनले जानकारी दिनुभयो ।

हाट बजार क्षेत्रभित्र पर्ने सुकेका रुख हटाउनेतर्फ भने वडा कार्यालय र नगरपालिकाको ध्यान जान नसकेकाले बजार स्थल असुरक्षित देखिएको स्थानीयले बताएका छन । ठाउँठाउमा रुख रहेको र हावा हुरीको मौसममा हाँगा झरेर किनमेल गर्न आउने सर्वसाधारणलाई थिच्नसक्ने उनीहरुको भनाई छ । रुखका कारण व्यापारी र ग्राहक सबैले असुरक्षित महशुस गर्नुपरेको हो ।

वनस्थली हाट बजार हाताभित्र एउटा कर्मा र २ ओटा साज प्रजातिको रुख रहेको छ । दुबै रुख बुढो भएर धोत्रो पसेको र मक्किएकाले कति खेर ढलेर मानवीय क्षति गर्ने हो भन्ने डरले स्थानीय त्रसित हुदैआएका छन । स्थानीयले डिभिजन वन कार्यालय र जिल्ला प्रशासन कार्यालयले पनि रुख हटाउनेतर्फ ध्यान नदिएको गुनासो गरेका छन ।बजारभित्र रहेको जोखिमयुक्त रुख हटाउनु अति आवश्यक रहेको र यसतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको ट्रस्ट निर्माण समितिका अध्यक्ष ब्लोनले बताउनुभयो ।

Leave a Reply