रौतहट,रौतहटको गुजरा नगरपालिकाका नगर उपप्रमुख रत्ना लामामाथि सोमबार कार्यालय परिसरमै कुटपिट भएको छ । नगरपालिका परिसरमा लामालाई वडा नं. १ का स्थानीय महिलाहरुको एउटा समूहले कुटपिट र दुव्र्यवहार गरेको हो ।कुटपिट र दुव्र्यवहार गर्नुको कुनै कारण नरहेको र अनाहकमा आफुलाई सुनियोजित ढङ्गले आक्रमण गरिएको बताउनुहुँदै गुजरा नगरपालिकाका नगर उपप्रमुख लामाले नगर प्रमुख सन्तलालप्रसाद चौधरीको इशारामा आक्रमण भएको आरोप लगाउनुभएको छ ।

यसअघि अर्को समूहले गुजरा नगरपालिका वडा नं. १ र ९ को सिमाना पर्ने लमाहा खोलामा नगर उपप्रमुख लामा चढेको प्रदेश २–०३–००१ झ ००२१ नं. को गाडी रोकेर तोडफोड समेत गरेका थिए ।गुजरा नगरपालिकाका कार्यपालिका सदस्य विजय साह बानियाँले नगरप्रमुख चौधरीको टोल पूर्णिमनरवाका बासिन्दा र उहाँका आफन्तले नगर उपप्रमुख लामालाई गरेको व्यवहार गरेको बताउनुहुँदै घटनाका दोषीलाई कारबाही नभए आगामी दिनमा नगरप्रमुख वा अन्य जुनसुकै जनप्रतिनिधिमाथि पनि यस्ता अप्रिय घटना दोहिरिन सक्ने बताउनुभयो ।

गुजरा नगरपालिका वडा नं. १ मा बुद्ध बहुउद्देशीय सहकारी संस्था र स्वयम् बहुद्देशीय सहकारी संस्थाले किसानलाई मल खाद्य उपलब्ध गराउँदै आएकोमा नगर प्रमुख चौधरीका छोरा र आफन्तले आफ्नो लागि नयाँ डिलर दर्ता हुनुपर्ने र साबिकको डिलरबाट मलखाद्य नलिने अडान लिएर नगर उपप्रमुखसँग बारम्बार विवाद गर्ने गरेको र त्यसकै निहुँमा कुटपिट समेत भएको कार्यपालिका सदस्य बानियाँले बताउनुभयो ।घटना सम्बन्धमा नगरप्रमुख चौधरीले किसानले समयमा मलखाद्य नपाएका कारण आक्रोशित किसानले नगर उपप्रमुखलाई दुव्र्यवहार गरेको बताउनुहुँदै यस घटनामा आफ्नो संलग्नता नरहेको दावी गर्नुभयो । घटना सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक रुपा लाबुंगले जानकारी दिनुभयो ।

Leave a Reply