सिंगौल,बारा क्षेत्र नम्बर १ का सांसद अच्युत मैनालीले मेला र जात्राहरु नेपालीहरुको मौलिक संस्कृति भएको बताउनुभएको छ ।निजगढ नगरपालिका वडा नम्बर ३ सिंगौलस्थित टाँसिधार्गेलिङ बौद्ध गुम्बामा बिहीवारबाट शुरु भएको रात्री मेलाको उद्धाटन कार्यक्रममा बोल्दै सांसद मैनालीले सो कुरा बताउनुभएको हो ।‘परम्परागत मेला र जात्राहरु हाम्रा मौलिक संस्कृति हुन, उहाँले भन्नुभयो, यसको संरक्षण र सम्बद्र्धनमा सबैले सहयोग गर्नुपर्छ ।’ सांसद मैनालीले मेलाको महत्वलाई बचाइ राख्न मर्यादित र शान्तिपूर्ण रुपमा आयोजना गर्नुपर्ने पनि बताउनुभयो । उहाँले मेलामा कुनै अप्रिय घटना हुन गएको खण्डमा हाम्रो धर्म संस्कृति र आफ्नो गाउँको प्रतिष्ठामा नै आँच आउने पनि बताउनुभयो ।ग्रामीण भेगमा मनोरञ्जनको सबैभन्दा प्रभावकारी माध्यमको रुपमा मेला र जात्राहरु नै रहेको बताउदै यसलाई सभ्य र शिष्ट रुपमा संचालन गरिनुपर्नेमा जोड दिनुभयो । ‘मेला भन्ने बित्तिकै अश्लिल र उत्श्रृखल क्रियाकलाप हुने ठाउँ भनेर पनि बुझिने गरेको छ, उहाँले भन्नुभयो, तर अब यसलाई आर्थिक क्रियाकलाप बढाउने र विशुद्ध मनोरञ्जन प्राप्त गर्ने स्थानको रुपमा लिनुपर्छ ।’उहाँले मेलालाई व्यवस्थित र सुरक्षित पार्न सुरक्षाकर्मी सहित स्थानीयबासिन्दाको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहने उहाँको भनाई थियो । ‘सबै मिलेर मेलालाई भव्य रुपमा आयोजना गरौं ।’ उहाँले भन्नुभयो ।कार्यक्रममा मधेस प्रदेश सभा सदस्य त्रिलोकी चौधरी, मिना लामा, निजगढ नगरपालिकका नगर प्रमुख सुरथ पुरी, निजगढ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष गोकुल तिमल्सिनालगायतले मेलाको सफलताको लागि शुभकामना दिनुभएको थियो । कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य चौधरी र लामाले मेला शान्तिपूर्ण रुपमा संचालन गर्नुपर्ने बताउनुभयो । मेला भर्न आउने श्रद्धालुहरुलाई कुनै किसिमको असहजता हुन दिननहुने उहाँहरुको भनाई थियो ।त्यसैगरी निजगढ नगर प्रमुख पुरीले पनि मेलामा कुनै पनि किसिमको अप्रिय घटना हुन नदिन स्थानीयले सजगता अपनाउनुपर्ने बताउनुभयो । उहाँले मेलाको सफलताको लागि नगरपालिकाले सक्दो सहयोग गर्ने पनि बताउनुभयो ।गुम्बामा तामाङ्ग समुदायका श्रद्धालुहरुले मृतक आफन्तहरुको संझनामा बत्ति बाल्ने र सोही अवसरमा गुम्बा परिसरमा रात्री मेला लगाउने चलन रहेको छ । गुम्बामा तामाङ्ग समुदायले हरेक वर्ष कार्तिक पुर्णिमा र चैत्र पुर्णिमाको दिन मृत आफन्तहरुको आत्माको चिरशान्तिको कामना गर्दै बत्ती बाल्ने गरेका छन ।५ दिनसम्म लाग्ने सो मेलामा भ्वाइसअफ नेपाल सिजन थ्रिको कोच तिर्सना गुरुङ्गसहित चर्चित गायक उर्गेन दोङ्ग, रचना रिमाल, प्रतीक भ्लोन, संजिब घिसिङ्गसहित स्थानीय कलाकारहरुले समेत प्रस्तुति दिने समितिले जनाएको छ । साथै मेलामा आलिसा डान्स ग्रुपले समेत प्रस्तुति रहेको छ । त्यसैगरी मेलामा विभिन्न विद्युतीय खेलको स्टल समेत राखिएको छ ।मेला व्यवस्थापन गर्न सुकराम जिम्मा ज्ञानुको अध्यक्षतामा २२ सदस्यीय मेला व्यवस्थापन समितिसमेत गठन गरिएको छ । समितिको उपाध्यक्षमा जितबहादुर वल, सचिवमा युवराज वल तामाङ, सहसचिवमा प्रेमकुमारी तिमल्सिना (घलान ), कोषाध्यक्ष सजना माया जिम्बा र सदस्यहरुमा हिरा लाल मोक्तान, सुनिल लामा,.नकलबहादुर वल, नेमा दोर्जे मोक्तान, जितबहादुर लोप्चन, भिमबहादुर लोप्चन, सन्दिप योन्जन,.कर्म मोक्तान लगायत रहेका छन ।

















