नरेश गुप्ता,आर्थिक वर्ष ०७७÷०७८ सकिनै लाग्दा बाराको सुवर्ण गाउँपालिकाले प्रकृया पूरा नगरी कार्यक्रम संचालन गर्न लागेको छ । कार्यालयले सूचना प्रकाशित नगरी लक्षित वर्गको कार्यक्रम संचालन गर्न लागेको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन श्रीबास्तव र समाजिक बिकास शाखा प्रमुख संजिव रामले आर्थिक प्रलोभनमा परेर आफ्नो नजिकको गैरसरकारी संस्थामार्फत असारको अन्तिम सातामा समझौता गरी लक्षित वर्गको कार्यक्रम संचालन गर्न लागेको रहस्य बाहिरिएको हो ।
सुवर्ण गाउँपालिकाले आर्थिक वर्ष ०७७÷०७८ को माघ महिनामा पनि सूचना प्रकाशन नगरी कोटेशनमा विभिन्न संघसंस्थाबाट ४० प्रतिशतसम्म कमिसन लिएर कार्यक्रम संचालन गरेपछि त्यसको चौतर्फी आलोचना गरिएको थियो ।
त्यसैगरी कोरोना महामारीको दोस्रो लहर अलिकति खुकुलो हुने बितिक्कै रकमको चलखेलमा प्रमुख प्रशासकीय अधिकृत श्रीबास्तव र समाजिक बिकास शाखा प्रमुख रामले संघसंस्थासंग सम्झौता गरि कार्यक्रम संचालन गर्न लागेका हुन । समाजिक बिकास शाखा प्रमुख रामले कार्यक्रम संचालनको लागि संस्थाबाट सम्झौता गरिएको र कार्यादेश दिएको बताउनुभयो । आर्थिक वर्ष असार समाप्त हुन लागेको अवस्थामा गैरसरकारी संस्थाबाट कार्यक्रम संचालन गर्दा प्रभावकारी नहुने स्थानीयहरुले बताएका छन । गाउँपालिकाले यसअघि पनि पहिलो फेजको कार्यक्रम गुपचुप रुपमा कार्यक्रम संचालन गरेको थियो ।
स्मरणीय के छ भने सुवर्ण गाउँपालिकाको वडा न ४ हर्दियामा विद्यालयको भवन निर्माणको लागि गरिएको टेण्डर प्रक्रिया कमिसनको चलखेलमा अर्को ठेकेदारलाई प्रदान गरेपछि विभिन्न संचार माध्यममा समाचार प्रकाशित भएको थियो । यस बिषयमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवीन श्रीबास्तवसंग बुझ्न खोजदा उहाँले कुनै प्रतिक्रिया दिनुभएन ।