काठमाण्डौ,शुक्रवार रातिको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी ज्यान गुमाउनेको सङ्ख्या एक सय ५७ जना पुगेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो अध्यावधिक विवरण अनुसार जाजरकोटमा १ सय पाँच जना र रुकुम पश्चिममा ५२ जना गरी एक सय ५७ जनाको ज्यान गएको हो।भूकम्पका कारण एक सय ७० जना घाइते भएका छन् । जाजरकोटमा ८१, रुकुम पश्चिममा ७८, दैलेख, जुम्ला र प्यूठानमा तीन–तीन जना तथा बैतडीमा दुई जना घाइते भएका हुन् । घाइतेमध्ये ७ जनालाई रुकुमको चौरजहारीबाट नेपाल एअरलाइन्सको ट्विनअटर जहाजमार्फत काठमाण्डौ ल्याइएको छ ।अहिले पनि खोज तथा उद्धारको काम चलिरहेको छ । तीनवटै सुरक्षा निकायको सक्रियतामा घाइतेहरूको उद्धार लगायतका काम भइरहेका छन् । नेपाल प्रहरीले आफ्ना आठ सय ६० जना जनशक्ति खटिएको जनाएको छ । शुक्रवार रातिको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण सयौँ घर भत्किएका छन् ।यसैबीच सरकारले भूकम्प प्रभावित जिल्लाका कर्मचारीहरुलाई केही दिन बिदामा नबस्न निर्देशन दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भूकम्प प्रभावित जिल्लाका पालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतसहित अन्य कर्मचारीहरुलाई तत्काल बिदामा नबस्न निर्देशन दिएको हो ।बिदामा भएका कर्मचारीलाई पनि यथाशीघ्र आफ्नो कार्यालयमा हाजिर भइ कामकाजमा खट्न मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले भूकम्पमा परी ज्यान गुमाएका व्यक्तिहरुको खोजी तथा पहिचान, घाइतेहरुको राहत तथा उद्धार, स्वास्थ्य उपचार सहित अन्य सबै पक्षहरुको व्यवस्थापनमा खटिन पालिकाका कर्मचारी तथा पदाधिकारीलाई अनुरोध समेत गरेको छ ।उता, उत्तरी छिमेकी चीन सरकारले नेपालका भूकम्प प्रभावित क्षेत्रमा १० करोड रुपैयाँ बराबरका सहायता सामग्री दिने भएको छ ।नेपालका लागि चीनका राजदूत छन सङले सामाजिक सञ्जाल ट्विटरमा लेख्दै भूकम्पको विपत्तीमा नेपालको साथमा चीन रहेको भन्दै १० करोड रुपैयाँ बराबरका सामग्री नेपाललाई प्रदान गर्ने बताउनुभयो ।चीनले त्रिपाल, कम्बल, टेन्ट लगायतका सामग्री दिनेछ । केही नेपाल आउने क्रममा रहेको र बाँकी दुई दिनभित्रै आइपुग्ने उहाँले बताउनुभएको छ ।यसैबीच, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जाजरकोट भूकम्पबाट नेपालमा भएको जनधनको क्षतिबाट आफू मर्माहत भएको बताउँदै नेपाल सरकार र नेपाली जनताप्रति ऐक्यबद्धता जाहेर गर्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सम्बोधन गर्दै सामाजिक सञ्जाल एक्समा प्रधानमन्त्री मोदीले नेपाल सरकारलाई हरसम्भव सहयोग गर्न भारत सरकार तत्पर रहेको बताउनुभएको छ । भूकम्पमा परी ज्यान गुमाएका परिवारजनप्रति समवेदना व्यक्त गर्दै प्रधानमन्त्री मोदीले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।त्यसैगरी रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पनि जाजरकोट भूकम्पबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । आफ्ना नेपाली समकक्षी राष्ट्रपति रामचन्द्र पौडेललाई शनिवार शोक सन्देश पठाउँदै प्राकृतिक विपत्तिको यस दुखद् घटनाबाट पीडित नेपालीप्रति गहिरो समवेदना प्रकट गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । सन्देशमा राष्ट्रपति पुटिनले नेपाली जनताप्रति ऐक्यबद्धता प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

Leave a Reply