नरेश गुप्ता
बरियारपुर,बारा प्रहरीले यात्रुबाहक बसबाट शुक्रवार ठूलो परिमाणमा लागुऔषधसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ तिनकुने चोकस्थित प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीको नियमित गस्ति टोलीले राजमार्गमा चेकजाँच गर्ने क्रममा सर्लाहीको मलंगवाबाट काठमाण्डौतर्फ जादै गरेको ना.७.ख.२६८१ नम्बरको बसको डिकीमा लुकाइछिपाई लैजादै गरेको अवस्थामा लागूऔषधसहित शंकास्पद अवस्थामा एकजनालाई नियन्त्तणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो ।
प्रहरीले नियन्त्रणमा लिएको लागुऔषधसहित सर्लाही पर्सा गाउँपालिका वडा नम्बर २ संग्रामपुर टोल बस्ने वर्ष २० को मिथिलेश कुमार मण्डललाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रहरीले यात्रुबाहक बसबाट फेनारगन १ हजार ७ पिस, नुरफिन ९ सय ८६ पिस, डाईजेपाम ९ सय ९७ पिस बरामद गरेको जनाएको छ ।
यसैगरी ईलाका प्रहरी कार्यालय सिमराले २ सय बोरा डियपी मलखाद नियन्त्रणमा लिइएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जितपुर बजारमा वीरगन्जबाट पथलैयातर्फ आउदै गरेको ना.२.ख.८५२२ नम्बरको ट्रकमा चोरी निकासी गरी ल्याउदै गरेको ५० किलो वजन भएको २ सय बोरा डि ए पि रसायनिक मल नियन्त्रणमा लिइएको हो । बरामद मलको बोरामा कुनै छाप, उत्पादन मिति नभएकोले प्रहरीले नियन्त्रणमा लिएको बताएको छ ।
यसैगरी प्रहरी चौकी डुमरवानाले अवैध रक्सी भट्टी नष्ट गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर .१५ डाडाटोलमा अवैध रुपमा संचालनमा रहेको घरेलु मदिरा उत्पादन गर्ने ६ वटा भट्टीमा छापामारी उक्त भट्टीमा रहेको घरेलु मदिरा उत्पादनमा प्रयोग हुने १ हजार लिटर कच्चा पदार्थ, २० लिटर तयारी मदिरा पनि सोही स्थानमा पोखेर नष्ट गरिएको छ । त्यस्तै भट्टीमा रहेका ६ थान प्लास्टिकको ड्रममा पनि फुटाएर नष्ट पारिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता थापाले जानकारी दिनुभयो ।