निजगढ,निजगढ नगरपालिकामा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार सुरथ परीले निजगढको समग्र विकासको लागि स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरुले नै जित्नु पर्ने बताउनुभएको छ ।

उहाँले बकैया, शक्ति, लाल, बगरे र धन्सार खोलाको बाढीबाट निजगढको अस्तित्व नै संकटमा पर्ने खतरबाट नगरलाई बचाउन खोलाहरुको शीरदेखि तल्लो तटसम्म पक्की तटबन्धन निर्माण गरी निजगढको सुरक्षार्थ प्राथमिकताका साथ काम गर्ने बताउनुभएको छ । उहाँले नगरभित्रका भमरा, धन्सारलगायत अन्य खोला र खहरे नियन्त्रण गर्न विभिन्न स्थानमा चेक ड्याम तथा जैविक बाँध निर्माण गरी भूसंरक्षण गरिने र चुरे क्षेत्रको भू(क्षय रोक्नको लागि विशेष कार्यक्रम संचालन गरिने बताउनुभएको छ ।

नगरबासीलाई पारदर्शी सेवा प्रदान गर्न फजुल खर्च नियन्त्रण गरी आर्थिक मितव्ययिता अपनाइने, कानून तथा नीति निर्माण गर्दा नगरवासीको हितलाई प्राथमिकतामा राखिने, अनलाइन र इ गभर्नेन्सलाई थप प्रभावकारी रुपमा अवलम्बन गरिने, नगर तथा वडाबाट प्रदान गरिने सबै सेवाहरु सहज रुपमा पारदर्शी ढङ्गले सम्पादन गर्ने र नगरभित्र हुने काला बजारीलाई कानुन अनुसार नियन्त्रण गरिने पनि बताउनुभएको छ ।

उहाँले शिक्षाको उज्यालो नगर, एमालेको मुख्य रहर भन्ने नाराका साथ निजगढलाई गुणस्तरीय शिक्षाको केन्द्रको रुपमा विकास गर्न दीर्घकालीन योजना तयार पार्ने, ५ वर्ष भित्रमा नेरामावि रतनपुर, नेरामावि भरतगंजसिंगौल, सार्वजनिक मावि बागदेव, गौरीशंकर मावि सडकटोल र बकैया ठाकुर मावि खयरघारीमा प्राविधिक शिक्षा लागु गर्ने, बालकक्षा जाने उमेर समूहका सबै बालबालिकालाई सुविधासम्पन्न र बालमैत्री बालकक्षा र उद्यानको व्यवस्था गरिने, माध्यमिक तहका विद्यालयमा नर्सको व्यवस्था गरी आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने र विद्यालयको तह अनुसार शिक्षक दरबन्दी मिलान गरी नपुग शिक्षक नगरबाट व्यवस्थापन, आवश्यकताका आधारमा विद्यालयहरुमा कक्षा अपग्रेड, उच्च तथा प्राविधिक शिक्षा (कृषि, भेटनरी, डेरी तथा फुड टेक्नोलोजी, आर्किटक्चर, सिभिल, होटल मेनेजमेन्ट, फार्मेसी, रेडियोलोजी, आयुर्वेदिक, प्राकृतिक चिकित्सालगायत) अध्ययन गर्ने गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई मापदण्ड बनाएर छात्रवृत्ति उपलब्ध गर्ने र छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीहरुले निश्चित समय नगरपालिकाभित्र सेवा गर्नुपर्ने, ८ कक्षाभन्दा माथिका विद्यार्थीहरुलाई आधारभूत कानूनी शिक्षा दिइने, गौरीशंकर कलेजको पठनपाठन गुणस्तरीय र समयसापेक्ष बनाउदै लगिने जस्ता कुरामा पनि आफ्नो ध्यान जाने बताउनुभएको छ । सूचना प्रविधि सम्बन्धी तालिम र शिक्षकसँग ल्यापटप कार्यक्रम संचालन गर्ने पनि उहाँको भनाइ छ ।

त्यसैगरी नगरबासीलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न नगर स्वास्थ्य कोषको व्यवस्था, स्वास्थ्य विमाको प्रभावकारी कार्यान्वयन, स्वास्थ्य विमाको शुल्कमा २५ देखि ५० प्रतिशत अनुदानको व्यवस्था, बाल, गर्भवती, प्रजनन स्वास्थ्य सेवा र सर्प दंशको उपचारलाई प्राथमिकतामा राखी रतनपुरी र सिंगौलमा सेवा विस्तार गर्ने र वडागत रुपमा रहेको शहरी स्वास्थ्य क्लिनिकको पूर्वाधार निर्माण सम्पन्न गरी सेवा सुचारु गर्ने, निजगढ प्राथमिक स्वास्थ्य केन्द्रमा निर्माणाधीन १५ शैयाको अस्पताल समयमा नै पुरी गरी यथाशिघ्र संचालनमा ल्याउने, निजगढभित्रका सरकारी तथा सामुदायिक स्वास्थ्य संस्थामा शिशु जन्माउने नगरभित्रका प्रत्येक सुत्केरी महिलालाई दिदै आएको संतुलित आहार खर्चको रकम वृद्धि गरिनेलगायतका कार्यक्रम संचालन गर्ने पनि बताउनुभएको छ । त्यस्तै विद्यालयमा अध्ययन गर्ने सबै किशोरीहरुको प्रजनन स्वास्थ्य निःशुल्क परीक्षण, दीर्घ तथा घातक रोगका बिरामीको उपचारमा आर्थिक विपन्नताको आधारमा विशेष सहयोग उपलब्ध गराउने र आर्युवेद र प्राकृतिक चिकित्सा पद्दतिलाई प्रोत्साहन गरिनेछ र सामुदायिक स्वास्थ्य सेवा विस्तार र क्षमता वृद्धि गरिने पनि बताउनुभएको छ ।

खाद्यान्नमा आत्मनिर्भर तुल्याउने नगरमा कृषि उत्पादनमा वृद्धि गर्न किसानहरुलाई गुणस्तरीय बिउ÷बिजन, मल खाद सहजरुपमा उपलब्ध गराउने, निजगढको सम्पूर्ण खेती योग्य जमिनमा सिँचाई सुविधा पुर्याउन हाल संचालनमा रहेका आयोजनाहरुलाई व्यवस्थित गर्ने, कृषि उत्पादन भण्डारण र बिक्री केन्द्रको विकास,बाली तथा पशु बीमामा अनुदानको व्यवस्था र कोल्ड स्टोर निर्माणलाई प्राथमिकतामा राखिने, वन्यजन्तु तथा प्राकृतिक विपद्बाट बालीमा हुने क्षतिमा किसानलाई राहत उपलब्ध गराइने, शक्तिखोला, बाघ भैरव, लाल बकैया, लगनशील मूल बाँधपैनी र धन्सार खोला सिँचाई आयोजनमा पक्की बाँध र कुलो निर्माण गरी थप व्यवस्थित गरिने, डम्बरपुर, कोलगाँउ, चिसापानी हाइट, बरथली, रामथली, बुङ्जोर, माथिल्लो र तल्लो सिमलचौर लगायत हाल सिँचाई सुविधा नपुगेको क्षेत्रमा पोखरी एंव भूमिगत सिँचाई आयोजना संचालन गरी सुविधा उपलब्ध गराउने, सहकारी संस्थाहरुलाई कृषि उत्पादनका क्षेत्रमा लगानी गर्न प्रोत्साहन, सहकारीमार्फत रोजगारी सिर्जना गर्ने कार्यक्रम संचालन, केरा खेती जोनको विकास गर्दै कृषकलाई आवश्यक सहयोग गरिने, कृषिमा आधारित घरेलु उद्योग स्थापना गर्न प्रोत्साहन गर्ने र व्यवसायिक रुपमा कृषि पेसा गर्न चाहने कृषकहरुलाई तालिम, आर्थिक सहयोग र परामर्शको व्यवस्था मिलाउनुको साथै कृषिलाई आधुनिकीकरण गर्न नगरका विभिन्न क्षेत्रमा नमूनाको रुपमा चक्लाबन्दी खेती सुरु र कृषि उपकरण खरिदमा अनुदान सहयोग गर्ने, आर्गनिक उत्पादनमा जोड दिदै व्यवसायिक रुपमा विषादीमुक्त फलफुल तरकारी उत्पादन गर्ने कृषकलाई आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गर्ने, दुधको उत्पादन लागत घटाउन सहकारी र सामुदायिक वनसंगको सहकार्यमा पोषिलो घाँस उत्पादन कार्यमा सहयोग गर्ने जस्ता कार्यक्रम संचालन गर्ने पनि बताउनुभएको छ । पशु दाना उत्पदन गर्न लघुउद्यम कार्यक्रम संचालन गरिने, दुधजन्य उद्योग संचालनमा सहयोग, किसानलाई गाई÷भैसी खरिदमा अनुदान र उत्पादित दुधमा किसानलाई अनुदान उपलब्ध गराउने र किसानले उत्पादन गरेको फसल उचित मूल्यमा खरिद गरी बजारीकरणको प्रवन्ध गरिने पनि बताउनुभएको छ ।

त्यस्तै निजगढलाई स्मार्ट सिटीको अवधारणा अनुरुप शहरीकरण र हाल अवरुद्ध बन्नपुगेको स्मार्ट सिटी निर्माण प्रकृयालाई पुनः संचालनमा ल्याउने पहल गर्ने, नगरभित्र चक्रपथ निर्माण कार्यलाई निरन्तरता र छिमेकी पालिकाहरुसँगको सहकार्यमा सडक संजाल विस्तार गरिने, लाल पार्किङ्ग, बुङ्गजोर, रामथली, कोलगाउँ र भक्तलाल जाने खोलामा पक्की पुल निर्माणको लागि पहल गरिने, सडक निर्माण गर्दा कालोपत्रेलाई प्राथमिकता दिइने र नालालाई व्यस्थिति पारिने, सडकहरुमा आवश्यकतानुसार पक्की पुल, कल्भर्ट तथा कजवेहरु निर्माण गरिने, नगरभित्र बस, इ(रिक्सा, अटो आदिलाई पार्किङको व्यवस्था गरी संचालन गरिने, निजगढ ४ स्थित दलित बस्तीलाई एकिकृत नमूना वस्तीको रुपमा विकास गर्न आवश्यक पहल गरिने, निजगढमा सुविधा सम्पन्न व्यापारिक भवनको निर्माण गर्ने पनि बताउनुभएको छ ।

स्थानीय तहको निर्वाचनमा एमालेले मेयर पदमा पुरी र उपमेयर पदमा सोममाया थिङ्गलाई मैदानमा उतारेको छ ।

Leave a Reply