मानिसको शरीर सबैभन्दा अमुल्य छ । धार्मिक मान्यतामा विश्वास गर्ने हो भने मानिसले एक जुनी पाउनका लागि ८४ हजार वर्ष कुर्नु पर्दछ ।खासमा चैं मानिसको जुनी अर्को हुने कुरा चैं केवल कल्पना र चित्त बुझाउने बाटो मात्रै हो । मानिसका लागि आफूले पाएको चोलाको कतै तुलना हुने कुरै भएन । अमुल्य मानिसको जीवन सामान्यभन्दा सामान्य कारणले ज्यान गएको देखिन्छ । आफ्नो सानो कमजोरी अनि बिना कमजोरीका कारण पनि मानिसले मानिसप्रति गर्ने व्यवहार पनि उसको लागि अभिषाप बन्दै गइरहेको देखिन्छ ।हाम्रो समाजमा पनि सानातिना विषयमा हिंसा उत्रिने र अपराधजन्य कार्य गर्ने प्रवृत्तिको बिजारोपण पनि हुदै छ कि भन्ने पनि केही घटनाले संकेत गर्न थालेको छ ।बाराको कलैयामा सोमवार भएको घटना अनि बुधवार हत्यामा सलग्न भएको आरोपमा सार्वजनिक भएका व्यक्तिहरुको कुरा अनि प्रहरीको भनाईलाई आधार बनाउने हो भने समाजमा अपराध मोलाउदै छ अनि मानवता हराउदैछ । एक त विवाहित व्यक्ति यसरी तथाकथित प्रेममा पर्नु कत्तिको ठीक हो भन्ने कुरासंगै अविवाहित युवतीको पनि परपुरषसंग लगाव किन भयो भन्ने पनि प्रश्न उब्जिएको छ ।
सोमवार दिउँसै भएको घटनाले एक पटक यस क्षेत्रमा फेरि अपराधीहरुको सक्रियता बढेको हो कि भनेर त्रास पनि छायो तर घटनाक्रमले अर्को कुरा देखायो । यद्यपि यो पनि अपराध नै हो तर यो संगठित गिरोह नभइ रिसिबीका कारण भएको देखियो र एक सामान्य कारणले एक व्यक्तिले ज्यान गुमाउन परेको छ भने अपराधमा संलग्नहरु पनि जेलमा जाने भएकाले उनीहरुको जीवन पनि यसै सकिने नै हो । यस्तो अपराध र कुकर्म गर्नतर्फ सोच्न नै हुन्न तर समाजमा किन यस्ता अपराध भइरहेको छ ?