वीरगञ्ज,पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका अन्तर्गत पर्ने भाठ्ठा मेलालाई लक्षित गरि गढुवा लाईनदेखि चरभैया रुट १२ घण्टाका लागि खुल्ला गरिने भएको छ ।रामभौरी भाठ्ठास्थित प्रसिद्ध दुधेश्वर नाथ महादेवको दर्शनका लागि आउने श्रद्धालुहरुको सुविधालाई ध्यानमा राखेर सो रुट खुल्ला गरिएको हो ।सो मन्दिरमा दर्शनको लागि हरेक वर्ष श्रावण महिनाभरि नेपाल र छिमेकी मुलुक भारतबाट लाखौं भक्तजनहरु आउने र मन्दिर परिसरमा मेला समेत लाग्ने गरेको छ ।
श्रद्धालुहरुको सुविधालाई मध्यनजर गर्दै पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय रामभौरी भाठा सेक्टरले विशेष व्यवस्था गरेको हो ।
निकुञ्ज कार्यालयले २०८१ श्रावण ५ गतेदेखि भाद्र ७ गतेसम्म दैनिक बिहान ६ बजे देखि बेलुका ६ बजेसम्म गढुवा लाईनदेखि चरभैया भएर मेला जाने रुटलाई खुला गर्ने निर्णय गरेको छ । यो व्यवस्थाले मेला भर्न आउने भक्तजनहरुको आवतजावतमा सहजता हुने अपेक्षा गरिएको छ ।यस व्यवस्थालाई सर्वसाधारणले सकारात्मक रुपमा लिएका छन् । तर, केही भक्तजनहरुले समयलाई अझै केही घण्टा लम्ब्याउनु पर्ने माग राखेका छन् ।निकुञ्ज कार्यालयले भक्तजनहरुको सुविधाका लागि गरेका यस व्यवस्थाले भक्तजनहरुको दर्शन यात्रा थप सहज र सुलभ बनाउने विश्वास गरिएको बताइएको छ ।

Leave a Reply