निजगढ,निजगढ नगरपालिका वडा नम्बर ११ रतनपुरमा बिहीवारबाट दोश्रो वडा अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिता शुरु हुनेभएको छ ।रतनपुर युनाइटेड फुटबल क्लबले कार्तिक १६ गतेदेखि कार्तिक २५ गतेसम्म वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको आयोजना गर्न लागेको बुधबार भएको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएकोछ ।रतनपुरस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको खेल मैदानमा हुने प्रतियोगितामा विजेताले एक लाख नगदसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार नगदसहित ट्रफी प्राप्त गर्ने आयोजकले जानकारी गराएको छ ।दोश्रो वडा अध्यक्ष गोल्डकप अन्तरगत प्रत्येक खेलमा म्यान अफ द म्याचलाई एक हजार नगदसहित ट्रफी प्रदान गरिने आयोजक रतनपुर युनाईटेड फुटबल क्लबका अध्यक्ष संतोष दनुवारले बताउनुभयो ।वडा अध्यक्ष गोल्डकपमा मधेस प्रदेशलगायत छिमेकी बागमती प्रदेशको हेटौंडा फुटबल एकेडमीसहित १० टिमले प्रतिस्पर्धा गर्ने बताइएको छ । आयोजक समितिले दिएको जानकारीअनुसार प्रतियोगितामा हेटौंडा फुटबल एकेडेमी मकवानपुर, जनअभियान बारागढी बारा, वीरगञ्ज युथ एकेडेमी पर्सा, योङ्ग स्टार निजगढ– १० लाल, वीरगञ्ज युनाइटेड पर्सा, एभरेष्ट एकेडेमी सर्लाही, चन्द्रपुरको गैडाटार, सभुझ गण आधाभार विभागीय आर्मी टोली र आयोजक दुई टिम गरि १० फुटबल टोलीले सहभागिता जनाउने छन ।पत्रकार सम्मेलन क्लबका अध्यक्ष संतोष दनुवारको अध्यक्षतामा भएको थियो भने कार्यक्रममा प्रमुख अतिथिको रुपमा निजगढ वडा नम्बर ११ का वडा अध्यक्ष सहईया गुरो थारु उपस्थित हुनुभएको थियो । त्यसैगरी बारा जिल्ला रेफ्री संघका महासचिव सियाराम कुमर, क्लबका सचिव उमेश गुरो, सदस्य बाबुराम स्यङ्तान, मुनिलाल कुमर, खेलप्रेमी जनकलाल गुरो, रामआशिष गुरो, संतोषकुमार गुरोलगायत युवा समाजसेवीहरुको पनि सहभागीता रहेको थियो ।बिहीवार हुने उद्धघाटन खेलमा हेटौंडा एकेडेमी मकवानपुर र जनअभियान बारागढी बाराबीच दिनको २ बजे प्रतिस्पर्धा हुनेछ ।