जेन–जी समूहको प्रदर्शनका कारण २ देखि तनाबग्रस्त बनेको सिमराको अवस्था साम्य पार्न स्थानीय प्रशासन र जेनजी समूहका युवाहरुबीच भएको वार्ता आज साँझ सकिएको छ ।पथलैयास्थित सशस्त्र प्रहरी बल नेपाल प्राविधिक तालिम शिक्षालयमा भएको वार्तामा आन्दोलनकारीको माग अनुसार प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जेनजीहरूको सुरक्षा, घाइतेहरूको उपचारमा समन्वय र घटनाको निष्पक्ष छानबिन तथा कारबाही गर्ने विषयलाई समेटेर विज्ञप्ति निकाल्ने प्रतिबद्धता जनाएपछि वार्ता सहमतिमा टुङ्गिएको हो ।

वार्तामा सहभागी जेनजीका अगुवाहरूले आफूहरूमाथि धम्की आएको भन्दै सुरक्षाको ग्यारेन्टी हुनुपर्ने लगायतका माग राखेका थिए । उनीहरुले पक्राउ पर्न बाँकी रहेका आरोपितहरूलाई पक्राउ गर्ने समयसीमा नै तोक्नुपर्न माग राखेका थिए । तर प्रजिअ मिश्रले सार्वजनिक रूपमा घुमिरहेका आरोपित व्यक्तिहरूलाई तुरुन्तै पक्राउ गर्न आफूबाट निर्देशन भइसकेको भन्दै लुकेको अवस्थामा रहेकाहरूलाई पक्राउ गर्न दिन तोक्न उपयुक्त नहुने बताउनुभएको थियो ।
यसैबीच वार्तामा सहभागी हुन काठमाण्डौंबाट सिमरा आइपुग्नु भएका जेनजीका अगुवा सुनद गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको लाचारीपनका कारण बाराको सिमरा घटना भएको बताउनुभएको छ । सिमरा घटनाको सन्दर्भमा स्थानीय प्रशासनसंग आज भएको वार्तामा सहभागी हुन बारा आउनुभएका गुरुङले गृहमन्त्री अर्यालमाथि असन्तुष्टि पोख्नुभएको हो ।

बाराको पथलैयास्थित सशस्त्र प्रहरी बल नेपाल प्राविधिक तालिम शिक्षालयमा प्रशासन र जेनजीबीचको वार्तामा सहभागी हुनुभएका उहाँले सरकार जेनजीको भए पनि गृहमन्त्री आफूहरूको नभएको बताउनुभयो ।उहाँले भन्नुभयो, ‘सरकार हाम्रो हो । तर, गृहमन्त्रालय हाम्रो होइन । गृहमन्त्रालयले राम्रोसँग काम गरेको भए यो दिन आउने थिएन । हामी आफैं पनि गृहमन्त्रीको विरोधमा आएका छौं । यो लाचारपन अब सहन सक्दैनौं हामीहरू । हतियारधारीहरू बाटैभरि घुमिरहेका छन् ।

बोतल उठाएर हाम्रा केटाहरूलाई हानिरहेका छन् ।’ देशका लागि लडेका जेनजीहरूले नै अन्याय सहनु पर्ने भन्दै बाराका प्रशानसँग उहाँले प्रश्न गर्नुभयो, ‘हामीले कहिलेसम्म सहनु पर्ने ? हामीले कहिले पार्टीको झण्डा उठाएर हिँडेका छौं र ? हाम्रो लागि पहिलो कुरा देश हो, त्यसपछि मात्रै बाँकी कुरा हो । देश बन्नुपर्छ भनेर हामीहरू चुप लागेर बसेका हौं ।’सरकारले जेनजीमाथि गोली हानेकै कारण २३ भदौपछि २४ भदौको घटना भएको उहाँले बताउनुभयो ।

Leave a Reply