सिमरा,आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले बारा सिमराकी संचारकर्मी रञ्जना खतिवडालाई बिहीवार स्वास्थ्य बीमावापतको रकम हस्तान्तरण गर्नुभएको छ । यादवले खतिवडालाई २६ हजार ६ सय ७३ रुपैयाको चेक हस्तान्तरण गर्नुभएको हो ।गत बैशाखमा ढाडमा पलाएको ट्युमरको शल्यक्रिया गर्नुभएकी खतिवडाले बीमावापत उक्त रकम प्राप्त गर्नुभएको हो । आमसञ्चार प्राधिकरणले आर्थिक वर्ष २०७९-८० मा मधेस प्रदेशका एक सयभन्दा बढी महिला पत्रकारको बीमा गरेको थियो ।प्राधिकरणको पहलमा भएको उक्त बीमा कार्यक्रम अन्तर्गत खतिवडालाई रकम हस्तान्तरण गरिएको हो । प्राधिकरणको बीमा कार्यक्रमबाट बिमितको रुपमा लाभान्वित हुने खतिवडा पहिलो महिला संचारकर्मी हुुनुहुन्छ ।खतिवडालाई चेक हस्तान्तरण गर्दै अध्यक्ष यादवले महिला पत्रकारलाई लक्षित गरी अघिल्लो वर्ष सुरु गरिएको बीमा कार्यक्रमलाई निरन्तरता दिइएको बताउनुभयो । प्रदेशका सबै महिलालाई सार्वजनिक सूचनामार्फत आवहान गरेर बीमा कार्यक्रममा सहभागी हुन आग्रह गरिएको भन्दै यादवले बीमा दावी गर्नुपरेमा प्राधिकरणसंग सम्पर्क गर्न सकिने बताउनुभएको छ ।प्राधिकरणले प्रदेशका सबै किसिमका संचारमाध्यमलाई व्यवसायिक बनाउन प्रयत्न गरिरहेको बताउँदै यादवले संचार क्षेत्रलाई स्थापित र स्थायित्व दिनका लागि गम्भीर हुन प्रदेश सरकारलाई आग्रह गर्नुभयो । संचारकर्मीको दक्षता र क्षमता विकासका लागि प्राधिकरणले विभिन्न योजना बनाईरहेको यादवको भनाई थियो । यादवले मधेसका आठ वटै जिल्लामा यस वर्ष पनि विभिन्न क्षमता अभिवृद्धिमा केन्द्रीत रहेर कार्यक्रम गर्ने बताउनुभयो ।चेक हस्तान्तरण कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सचिव कमलकुमार उपाध्याय, नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी, प्रेस चौतारी नेपाल बाराका अध्यक्ष दिवाकर भण्डारी, नेपाल खेलकुद पत्रकार मञ्च बाराका अध्यक्ष सुनिल गाउँले, राष्ट्रिय बीमा संस्थान जनकपुरधामका निमित्त प्रमुख खगेन्द्र थापालगायतको उपस्थिति रहेको थियो ।



















