काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ को नकआउट समीकरण पूरा भएको छ । शुक्रबार राति भएको समूह जी अन्तर्गत ब्राजिल र क्यामरुन तथा सर्बिया र स्वीटजरल्याण्डको खेलपछि नकआउट चरणमा पुग्ने १६ वटै टिमको टुंगो लागेको हो ।

सर्बियालाई ३–२ ले हराउँदै समूह उपविजेता बनेको स्वीटजरल्याण्ड अन्तिम १६ मा पुग्ने अन्तिम टोली बन्‍यो । ब्राजिल समूह जी को विजेता तथा स्वीजरलयाण्ड उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका हुन् ।

२२औं संस्करणको विश्वकपमा सहभागी ३२ राष्ट्रलाई ८ समूहमा विभाजन गरेर खेलाइएको थियो । हरेक समूहमा ४–४ टिम थिए । समूह चरणको ४८ खेलपछि १६ टिम अन्तिम १६ मा प्रवेश गर्दा १६ टिमको चुनौती भने समाप्त भएको छ । हरेक समूहको समूह विजेता र समूह उपविजेता अन्तिम १६ मा पुगेका हुन् ।

यसपटक समूह चरणका खेलहरु रोमाञ्चक रहे । जहाँ केही अप्रत्याशित टीम पनि आए । उपाधि दाबेदार मानिएको पूर्व च्याम्पियन जर्मनीदेखि स्वर्णिम पुस्ताको बेल्जियम समूह चरणबाटै बाहिरिए । यस्तै उरुग्वे, मेक्सिको, डेनमार्कले पनि समूह चरण पार गर्न सकेनन् ।

यता, जापान र मोरोक्को उत्कृष्ट प्रदर्शन गर्दै समूह विजेता बने । एसियाबाट पहिलो पटक तीन टिम विश्वकपको नकआउट चरणमा पुग्‍यो ।

अब नकआउट चरणमा फाइनलसहित कुल १६ खेल हुनेछ । नकआउट चरणमा युरोपियन टिमकै वर्चस्व छ ।

युरोपबाट सर्वाधिक ८ राष्ट्र नकआउट चरणमा प्रवेश गर्दा एसियाबाट ३, दक्षिण अमेरिका र अफ्रिकाबाट २÷२ दुई तथा उत्तर अमेरिकाबाट एक टिम छन् ।

समूह ए बाट नेदरल्याण्ड्स र सेनेगल, समूह बी बाट इंग्ल्याण्ड र अमेरिका, समूह सी बाट अर्जेन्टिना र पोल्याण्ड, समूह डी बाट फ्रान्स र अष्ट्रेलिया, समूह इ बाट जापान र स्पेन, समूह एफबाट मोरक्को र क्रोएसिया, समूह जी बाट ब्राजिल र स्वीटजरल्याण्ड तथा समूह एचबाट पोर्चुगल र दक्षिण कोरिया अन्तिम १६ मा प्रवेश गरेका छन् ।

Leave a Reply