हेटौंडा,बागमती प्रदेश सरकारको प्रमुखमा इन्द्रबहादुर बानियाँ नियुक्त हुनुभएको छ ।बानियाँ ११० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेस र नेकपा एमाले गरी कुल ६४ जना सांसदको समर्थनमा मुख्यमन्त्रीबन्नुभएको हो ।प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बानियाँलाई मंगलवार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । नेपाली कांग्रेस बागमती प्रदेश समिति सभापतिसमेत रहनुभएका मकवानपुर निवासी बानियाँ बागमतीको छैठौं मुख्यमन्त्री बन्नुभएको हो । बानियाँभन्दा अगाडि पाँच जना डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्कट्टेल र बहादुरसिंह लामा बागमती प्रदेशको मुख्यमन्त्री बनिसक्नुभएको छ ।

पेसाले निर्माण व्यवसायी बानियाँ कम्युनिस्टहरूको गढ मानिएको मकवानपुरबाट सांसद जित्ने पहिलो कांग्रेस नेता पनि हुनुहुन्छ । उहाँ ४ मंसिर २०७० मा भएको संविधानसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ ।२०७४ बाट संघीयता कार्यान्वयनमा गएसँगै तीन तहको सरकार गठन हुने भएपछि बानियाँ प्रदेशसभा निर्वाचन लडनुभएको थियो । २०७४ सालपछि बानियाँ नेपाली कांग्रेस संसदीय दलको नेता हुनुहुन्थ्यो । अघिल्लो कार्यकालमै मुख्यमन्त्री हुन खोजेका बानियाँ असफल बन्न पुग्नुभएको थियो ।

प्रदेशसभाको दोस्रो कार्यकालमा दलको नेताबाट पराजित भएका बानियाँ साढे २ वर्षपछि दलको नेताबाट बहादुर सिंह लामालाई हटाएर आफैं बन्नुभयो । १३ पुस २०७९ मा दलको नेताका लागि भएको निर्वाचनमा लामासँग बानियाँ ५ मतले पराजित हुनुभएको थियो ।साउन ०८२ मा मुख्यमन्त्रीसमेत रहेका दल नेता लामाविरुद्ध बानियाँकै नेतृत्वमा २१ सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका थिए । १३ साउनमा अविश्वासको प्रस्तावमाथि मतविभाजन हुँदा अविश्वास प्रस्तावको पक्षमा २२ र विपक्षमा १५ मत परेपछि लामाले दल नेताको हैसियत गुमाउनुभएको थियो ।गत १४ साउनमा दलको नेता चयनका लागि भएको निर्वाचनमा लामालाई हराएपछि बानियाँको मुख्यमन्त्री हुने बाटो खुलेको थियो ।

कांग्रेसकै बहादुर सिंहले आइतवार मुख्यमन्त्रीबाट राजीनामा घोषणा गरेर सोमवार प्रदेश प्रमुखको कार्यालयमा राजीनामा दर्ता गराएउनुभएको थियो । उहाँको राजीनामा स्वीकृत भए लगत्तै प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि २४ घण्टाको अर्थात मंगलवार दिउसो २ बजेभित्र दाबी पेस गर्न आह्वान गर्नुभएको थियो ।कुनै पनि दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

सरकार गठनका लागि आह्वान भएको करिब आधा घण्टामै बानियाँले कांग्रेसको ३७ सांसद र सत्ता साझेदार दल नेकपा एमालेको २७ गरी ६४ जना सांसदको समर्थनसहित दाबी पेश गर्नुभएको थियो ।११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ जना सांसदको समर्थन आवश्यक पर्दछ । सात वटा राजनीतिक दलको प्रतिनिधित्व रहेको प्रदेश सभामा माओवादी केन्द्रको २१, राप्रपाको १३, नेकपा एकीकृत समाजवादीको ७, नेमकिपाको ३ जना र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् ।बागमतीमा एक वर्षअघि सरकार गठन हुँदा एमाले र कांग्रेसबीच २०–२० महिना सरकारको नेतृत्व गर्ने सहमति थियो । जसअनुसार बानियाँले ८ महिना सरकारको नेतृत्व गरि आगामी फागुनमा एमालेलाई नेतृत्व हस्तान्तरण गर्नुपर्नेछ ।
८ जना मन्त्रीले लिए शपथ
हेटौडा,बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसहित ८ जना मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त हुनु भएका मुख्यमन्त्री बानियाँले आज प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाबाट शपथ लिएसँगै आफ्नो मन्त्रिपरिषद्को प्रारम्भिक संरचना सार्वजनिक गर्नुभएको हो ।
बानियाँसँगै नेपाली कांग्रेसबाट शिवराज अधिकारी र कृष्णकुमार तामाङले शपथ लिए । तामाङलाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने अधिकारीको जिम्मेवारी तोकिएको छैन । बाँकी ५ वटा मन्त्रालय कांग्रेसले आन्तरिक विवादका कारण अहिलेसम्म पनि टुङ्ग्याउन सकेको छैन ।

नेकपा एमालेको तर्फबाट भने ६ जना मन्त्रीले जिम्मेवारीसहित शपथ लिए । एमालेका मधुसूदन पौडेलले कृषि तथा पशुपक्षी विकास, जयराम थापाले श्रम, रोजगार तथा यातायात, विन्दु श्रेष्ठले उद्योग, दिनेशचन्द्र देवकोटाले भौतिक पूर्वाधार विकास, किरण थापाले स्वास्थ्य र भरत केसीले वन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।कुल १४ मन्त्रालय रहेको बागमती प्रदेशमा सत्ता गठबन्धनमा रहेका कांग्रेस र एमालेबीचको भागबन्डा अनुसार एमालेले ६ मन्त्रालय पाएको हो भने कांग्रेसले मुख्यमन्त्रीसहित ७ मन्त्रालय पाउने सहमति भएको छ । बाँकी ५ वटा मन्त्रालयमा चाँडै मन्त्री नियुक्त गर्ने कांग्रेसले जनाएको छ ।

Leave a Reply