वीरगन्ज,वीरगन्ज–पथलैया व्यापारिक राजमार्ग निर्माणको काम पाँच वर्षमा पनि सम्पन्न हुन सकेकोे छैन । २०७३ असार २९ गतेदेखि शुरू भएको सडक निर्माणको काममा ठेकेदार कम्पनीले चरम लापरवाही गर्दा सडकको निर्माण कार्य अधुरो रहेको हो । करीब ५ अर्ब रुपैयाँको ठेक्का लिएर समयमा काम नगरिदिंदा यस भेगका जनता चरम सास्ती खेप्न बाध्य छन । दुई वर्षभित्र काम सम्पन्न गर्नुपर्ने सम्झौता भए तापनि विभिन्न कारण देखाउँदै ठेकेदार कम्पनीहरूले काममा ढिलाइ गरिरहेका छन् ।
वीरगंज–पथलैयाबीचको विभिन्न सडकखण्ड अहिले वर्षातको समयमा कहीं हिलाम्मे त कहीं पोखरी बनेका छन् । सुक्खा बन्दरगाहको लक्ष्मी आयलनिर, जगरनाथपुर–गण्डक नहरनजीकै, परवानीपुर चोक, गढीमाई मन्दिरदेखि जीतपुर बजार र लालका पुल क्षेत्रमा वर्षातको बेला यात्रा गर्न सास्ती खेप्नुपरेको यात्रीहरूले बताएका छन । व्यापारिक मार्गमा हाल तीनवटा पुलको निर्माण काम भइरहेको छ । पथलैया–परवानीपुर–आइसिपी सडकखण्डमा ६ वटा प्याकेजमा ६ लेनको ३१ किलोमिटर लम्बाइको सडक कालोपत्रे गर्ने काम भइरहेको छ भने परवानीपुर–गण्डकको चार किलोमिटर लम्बाइको सडक निर्माण कार्य भइरहेको छ । अर्को जीतपुरको लालका पुल, परवानीपुरदेखि गण्डक जाने बाटोमा एउटा पुल र अर्को परवानीपुरदेखि सुक्खा बन्दरगाह जाने सडकखण्डमा गरी तीनवटा पुलको निर्माण कार्य भइरहेको छ । सडकको सातवटा प्याकेजको जेठ महीनासम्मको प्रगति हेर्दा सडकको भौतिक प्रगति ७५ प्रतिशत छ भने वित्तीय प्रगति ७० प्रतिशत छ । सडक निर्माणको सातवटा प्याकेजमा सबैभन्दा ढिला काम गर्ने ठेकेदार कम्पनीको रूपमा पप्पु कन्स्ट्रक्शन देखा परेको छ । परवानीपुरदेखि जगरनाथपुरको गण्डक नहरसम्म १ नं प्याकेज, हरपतगंजदेखि आइसिपीसम्म ३ नं प्याकेजमा पप्पुले निकै कम काम गरेको छ । पथलैयादेखि सूर्य नेपालसम्म ४ नं प्याकेज, गढीमाईदेखि परवानीपुरसम्म ६ नं प्याकेज र परवानीपुर–गण्डक सडकखण्डमा अन्य खण्डभन्दा केही काम बढी भएको व्यापारिक मार्ग विस्तार आयोजना कार्यालय पथलैयाका सूचना अधिकारी इन्जिनीयर सम्पतलाल दासले बताउनुभयो ।