जनकपुरधाम, नेपाली कांग्रेस मधेश प्रदेशको संसदीय दलको नेताको चयन गर्न निर्वाचन समिति गठन गरेको छ ।बिहीबार जनकपुरमा बसेको कांग्रेस मधेश प्रदेश समितिको बैठकले दलको नेता चयन गर्न प्रदेश उपसभापति चन्द्रशेखर कुमार यादवको संयोजकत्वमा तीन सदस्य निर्वाचन समिति गठन गरेको हो । समितिको सदस्यद्वयमा महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ र सहमहामन्त्री विन्दुकुमारी यादव रहेको कांग्रेसका मधेश प्रचारप्रसार समितिका प्रमुख नितेश गुप्ताले जानकारी दिनुभयो ।कांग्रेसको विधान नियमावली र प्रदेश संसदीय दलको विधानको धारा ५ को ३ अनुसार निर्वाचन समिति गठन गरेको हो । निर्वाचन समितिले केहीदिन भित्रै सर्वसहमतिबाट दलको नेता चयन पहल थालिने र नभए अन्तमा निर्वाचन प्रक्रिया अपनाउने प्रवक्ता गुप्ताले बताउनुभयो ।दलको नेताको लागि कांग्रेसका प्रदेश सभापति समेत रहेका प्रदेश सांसद कृष्णप्रसाद यादव, निवर्तमान संसदीय दलका नेता रामसरोज यादव, निवर्तमान महिला बालबालिका युवा तथा खेलकुदमन्त्री विरेन्द्र सिंह र पर्साका नेता जनार्दन क्षेत्री दाबेदार छन् ।यस्तै बैठकले मधेश प्रदेशमा कांग्रेसको नेतृत्वमा प्रदेश सरकार गठन गर्नका लागि केन्द्रीय नेतृत्वसँग समन्वय गरि गठवन्धनमा रहेका दलहरु लगायतसँग वार्ता, संवाद र छलफल प्रक्रिया प्रारम्भ गर्ने निर्णय समेत गरेको छ । जसको लागि प्रदेश सभापति यादवलाई जिम्मेवारी दिएको छ ।मधेश प्रदेश अन्तर्गत प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा निर्वाचित भएका सांसदहरुलाई कार्यक्रम आयोजन गरी सम्मान गर्ने लगायतको पाँचवटा निर्णय गरेको जनाएको छ ।

Leave a Reply