नेपलीहरुको महान पर्व बडा दशैं यो वर्षको तपाई हाम्रो घर आँगनमा भित्रिसकेको छ । बडा दशैं आश्विन शुक्ल पक्षमा प्रतिपदादेखि दशमी र त्यसपछि कोजाग्रत पूर्णिमासम्म पनि मानिने विशेष पर्व वा उत्सव हो ।दशैंलाई बडा दशैं, दशहरा, विजया दशमी, आयुध–पूजा आदि नामले जानिन्छ । यो खासगरी आश्विन शुक्ल सप्तमीका दिनदेखि दशमीका दिनसम्मका फूलपाती, महाअष्टमी, महानवमी र विजयादशमी लगातार चार दिनको महापर्व हो । यो नेपालीहरूको सबैभन्दा ठूलो राष्ट्रिय चाड हो।त्यसमा पनि विजयादशमी मुख्य दिन हो ।त्रेता युगमा यहि दिनमा श्रीरामले सीताको हरण गर्ने रावणको बध गरेको सम्झनामा यस चाडलाई विशेष गरी मनाइन्छ । श्रीरामले दशैँ दिनमा रावणमाथि विजय हाँसिल गरेको भएर दशैलाई वडादशै एवम् विजयदशमीको नामले पूकारिन्छ । दशैंलाई असत्यमाथि सत्यको विजयको रुपमा हेरिन्छ ।विजयदशमी भगवान रामको विजयको रुपमा मनाइयोस् अथवा दुर्गा पूजाको रुपमा, दुवै रुपमा यो शक्ति–पूजाको पर्व हो, शस्त्र पूजनको तिथि हो । हर्ष एवं उल्लास तथा विजयको पर्व हो । हिन्दू सँस्कृति वीरताको पूजक अनि शौर्यको उपासक हो । व्यक्ति र समाजको रगतमा वीरता प्रकट होस् भन्ने ध्येयले दशैंको उत्सव–पर्व सुरु भएको हो । महाखुशीको पर्व हो ।
चाडपर्वहरुले एउटा छुट्टै आनन्दको अनुभूति दिलाउँछ्न । हर्ष, उल्लासका साथ आउने र मनाउँने चाडपर्वले बेग्लै रौनकता ल्याइदिन्छ । भिन्न खुसी र सुख प्रदान गर्दछ ।यसले पूरै वातावरणको परिवेशलाई उल्लास र रौनक तर्फ परिवर्तन गरिदिन्छ । त्यसैले त चाडपर्वलाई विशेष महत्वका साथ मनाइने गरिन्छ । त्यही भएर हामी हिन्दुहरुको महान् चाडको रुपमा दशै हर्सोल्लासका साथ मनाउछौँ । बडादसैँको पर्वमा मालसिरी वा मालश्री धुन बजाएर र गीत गाएर रमाइलो पनि गरिन्छ ।
देश बिदेश वा टाढा टाढा भएका आफ्ना साथीभाई, आफन्तजनसँग भेटघाट हुने वातावरण यसै समयमा सिर्जना हुन्छ । पर्वले यस्तो सुनौलो अवसर जुटाइदिन्छ । त्यसको बेग्लै मज्जा छ ।दशैमा दक्षिणा, टिका, जमरा र पिङको मज्जालाई छुट्टै खास अर्थ र महत्वका रुपमा लिइन्छ ।यो महान पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण पाठकहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।