रौतहट,रौतहटमा निर्वाचनका लागि खटिएका प्रहरी पोशाकको पैसाको विषयलाई लिएर आन्दोलनमा उत्रिएका छन् ।
सरकारले पोशाकको छुट्टै पैसा माग गरेको भन्दै रौतहटको गरुडामा म्यादी प्रहरीहरूले आज इलाका प्रहरी कार्यालय गरुडा घेराउ गरी प्रदर्शन गरेका हुन् ।सयौंको संख्यामा पुगेका म्यादी प्रहरीहरूले केहीबेर गौर– चन्द्रनिगाहपुर सडकसमेत अवरुद्ध गरेका थिए । सडक जामका कारण उक्त सडकखण्डमा सवारी साधन लामो समयसम्म रोकिएका थिए ।
म्यादी प्रहरीहरू आज पोशाक बुझ्न इलाका प्रहरी कार्यालय गरुडा पुगेका थिए । तर त्यहाँका प्रहरीले बिना चेक पोशाक दिन नसकिने बताएपछि उनीहरू आक्रोशित बनेका हुन् ।सरकारले पारिश्रमिकबापत ४४ हजार रुपैयाँ दिने र पोशाकको पैसा नलिने जानकारी गराए पनि अहिले पोशाकबापत ब्लैंक सादा चेक मागिएको म्यादी प्रहरीहरूको भनाइ छ । पोशाकका लागि ६ हजार १७० रुपैयाँको चेक मागिएको उनीहरूले बताएका छन् ।
पोशाकको मूल्य ६ हजारभन्दा बढी तोकिए पनि त्यति मूल्य बराबरको पोशाक नभएको कतिपय म्यादी प्रहरीको गुनासो छ । बिना चेक आफूहरूलाई पोशाक दिनुपर्ने उनीहरूको माग छ । कुनै हालतमा पोशाकबापत पैसा वा चेक नदिने अडान उनीहरूले लिएका छन् ।
सरकारले निर्वाचनपछि पोशाकबापत ६ हजार १७० रुपैयाँ फिर्ता दिने भए त्यसको लिखित प्रमाण उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ । लिखित सहमति भएमा मात्र चेक दिन तयार रहेको म्यादि प्रहरीहरूले बताएका छन् । पोशाकको रकमबारे टुंगो नलागेसम्म आन्दोलन जारी रहने उनीहरूको चेतावनी छ ।यता इलाका प्रहरी कार्यालय गरुडाले म्यादी प्रहरीले पाउने पारिश्रमिकबाट पोशाकको रकम नकटिने जनाएको छ । पारिश्रमिकबाहेक पोशाकको छुट्टै पैसा दिने व्यवस्था रहेको इलाका प्रहरी कार्यालय गरुडाका इन्स्पेक्टर रामकुमार शर्माले बताउनुभएको छ ।हालका लागि ड्रेसबापत चेक लिनुपर्ने र निर्वाचनपछि सो रकम फिर्ता गरिने इन्स्पेक्टर शर्माको भनाई छ ।


















