सिमरा,सार्वजनिक जग्गाबाट माटो चोरी गरी बिक्री गरेको घटनामा सम्बन्धित निकायको अनुसन्धान सुस्त देखिएको छ ।
जीतपुरसिमरा ११ मा नम्बरी जग्गाको स्वीकृति लिएर सरकारी जग्गाबाट कराडौं मूल्य बराबरको माटो चोरी गरि बिक्री गरेको घटनामा सम्बन्धित निकाय जीतपुरसिमरा उपमहानगरपालिकाको अनुसन्धान सुस्त देखिएको हो ।माटो चोरी प्रकरणमा उपमहानगरपालिकाको कार्यालयले हालसम्म दोषीको पहिचान गर्न सकेको छैन भने अवैध रुपमा माटो उत्खनन गर्दै गरेको अवस्थामा नियन्त्रणमा राखिएको अवस्थामा भगाइएको एक्साभेटरको अवस्थाका बारेमा समेत कार्यालय अनविज्ञ छ । सरकारी टोलीले नियन्त्रणमा लिएर राखेकै ठाँउबाट सोमवार राती बेपत्ता पारिएको एक्साभेटरको अवस्था बुधवार साँझसम्म पत्ता लाग्न सकेको छैन ।घटना सार्वजनिक भएपछि उपमहानगरपालिकाको कर्मचारीसहितको प्राविधिक टोलीले पहिलो र उपप्रमुख भोलाप्रसाद अधिकारीको टोलीले दोस्रो पटक स्थलगत निरीक्षण गरिसकेको छ । पहिलो पटक निरीक्षणका लागि पुगेको योजना अधिकृत बालारम खड्का र ईन्जिनियर सञ्जीव रुपाखेतीसहितको टोलीले नियन्त्रणमा लिएर राखेको एक्साभेटर उपप्रमुख अधिकारीको टोली पुग्दा बेपत्ता पारिएको थियो ।कानुन विपरित काम गरिरहेको अवस्थामा सरकारी टोलीले नियन्त्रणमा लिएको एक्साभेटर राखेकै ठाँउबाट बेपत्ता पारिदासमेत उपमहानगरपालिका, वडा कार्यालय र स्थानीय प्रहरी प्रशासन अनविज्ञ देखिएका हुन । सरकारी टोलीले नियन्त्रणमा लिएर राखेको एक्साभेटर रातारात बेपत्ता पारिनुले पनि माटो चोरी प्रकरण थप शंकास्पद बनेको छ ।नम्बरी जग्गाको नाममा सिफारिस लिएर सार्वजनिक जग्गाबाट एक हजार भन्दा बढी टिपर माटो चोरी भएको घटनामा उपमहानगरपालिकाले हालसम्म धारणा सार्वजनिक गरेको छैन । अनुगमनका लागि पुगको सरकारी टोलीले सार्वजनिक जग्गाबाट माटो चोरी भएको निष्कर्ष भने निकालिसकेको छ ।अनुगमनपछि उपप्रमुख अधिकारी र ईन्जिनियर रुपाखेतीले अनियमित तरिकाले माटो उत्खनन् भएको बताउदै यस विषयमा अनुसन्धान जरुरी रहेको बताएका छन् । यता उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल पनि घटनाको अनुसन्धान भईरहेको बताउनुुहुन्छ । ‘घटनालगत्तै अनुसन्धानको काम सुरु भईसकेको छ । हामी काम गरिरहेका छौं’ नगर प्रमुख पौडेलले भन्नुभयो, ‘अनुसन्धानले दोषी देखाएको सबैलाई कारबाही हुन्छ ।’ नगर प्रमुख पौडेलले अज्ञात बनाइएको एक्साभेटर खोजीका लागि समेत प्रहरी प्रशासनसंग समन्वय भईरहेको बताउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here