नरेश गुप्ता

बरियारपुर,म्यादी प्रहरीमा भर्ना हुनको लागि जिल्ला प्रहरी कार्यालय बारामा आवेदन दिन आउनेको आइतवार भीड लागेको छ ।

गृह मन्त्रालयले जिल्ला प्रहरी कार्यालय बाराले भर्नाको लागि सूचना सार्वजनिक गरेपछि आवेदन दिन आउनेहरुको भीड लागेको हो । जिल्लामा २ हजार ५ सय २८ जना म्यादी प्रहरी भर्नाको लागि आइतवार गतेदेखि आवेदन खुल्ला गरिएको हो ।

आवेदन दिने पहिलो दिन आइतवार मात्र ६ सयभन्दा बढी महिला तथा पुरुषले आवेदन दर्ता गराएका छन । म्यादी प्रहरी भर्नाको लागि महिलाहरुको पनि सहभागिता रहेका छन । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ फतेपुर निवासी रन्जु चौधरीले आफूले म्यादी प्रहरीमा आवेदन दिएको बताउनुभयो । घरको अवस्था कमजोर भएका कारण म्यादी प्रहरीको लागि आवेदन दिन जिल्ला आएको उहाँको भनाइ छ ।

म्यादी प्रहरी भर्नाको लागि आइतवारदेखि चैत्र ११ गते शुक्रवार दिउँसो ५ बजेसम्म मात्र आवेदन बुझाउने समय तोकिएको बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो ।

स्थानीय तहको निर्वाचन बैशाख ३० गते गर्ने निश्चित भएपछि शान्ति सुरक्षाको लागि म्यादी प्रहरीको भर्ना अभियान सुरु गरिएको हो । म्यादी प्रहरीको कार्य अवधि बढीमा चालीस दिन रहने प्रहरी प्रवक्ता थापाले जानकारी दिनुभयो । आवेदन दिने उम्मेदवारहरुको आगामी चैत्र १५ गतेदेखि छनौट कार्य सुरु हुने पनि उहाँले बताउनुभयो ।

म्यादी प्रहरीले मासिक ३० हजार २ सय ४० रुपैयाँ पारिश्रमिक पाउने छन । पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरीले खाद्यान्नबापत सात हजार २ सय, पोसाक र अन्य खर्च गर्ने गरी ६ हजार, यातायात खर्च बापत १ हजार रुपैयाँ र बीमा सुविधासमेत उपलब्ध गराइने व्यवस्था गरिएको छ ।

यसैबीच जिल्ला प्रहरी कार्यालय पर्सामा पनि म्यादी प्रहरीमा भर्ना हुनेहरुको भिड लागेको छ । नेपाल प्रहरीले आजदेखि म्यादी प्रहरीमा भर्नाका लागी आवेदन खुला गरेपछि भिड लागेको हो । जिल्लाका ग्रामिण र शहर क्षेत्रका युवाहरु दर्खास्त दिन पुगेको पर्सा प्रहरीले जनाएको छ । १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेका व्यक्तिले ११ चैत्रसम्म आवेदन दिन सक्ने छन । फौजदारी अभियोग नलागेको, कुनै राजनीतिक दलको सदस्य नभएको, शारीरिक र मानसिकरुपले तन्दुरुस्त नेपाली नागरिकले आवेदन दिन सक्ने पर्साका प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पूर्वसुरक्षाकर्मी, नेपाल बाहिरका सुरक्षा निकायमा काम गरेका र यसअघिका चुनावमा म्यादी प्रहरी बनेकालाई प्राथमिकता दिइने छ ।

चैत्र ११ सम्म आवेदन दिनेहरुले १३ गते प्रहरी कार्यालयमा सम्पर्क गर्नु पर्ने र १५ गतेदेखि शारीरिक परीक्षण गरेर २२ चैत्रमा अन्तिम छनौट भएकाहरुको नामावली प्रकाशित हुनेछ । उनीहरुलाई २८ चैत्रदेखि तालिम दिएर चुनावका लागि ४० दिन काम लगाइने छ ।

Leave a Reply