कलैया,६१ किलो सुन प्रकरणमा पक्राउ परेका कलैयाका सुनचाँदी व्यवसायी शिवकुमार सरार्फ सहित २५ जनालाई थुनामा पठाउन अदालतले आदेश भएको छ ।काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले ६१ केजी सुन प्रकरणमा पक्राउ परेका २६ जना मध्ये २५ जनालाई थुनामा पठाउन आदेश दिएको हो । कलैयाका सुनचाँदी व्यवसायी संघका अध्यक्ष समेत रहेका सरार्फविरुद्ध अवैध चोरी पैठारी, नेपाल राष्ट्र बैंक ऐन र संगठित अपराधसमेतको कसुरमा संलग्न देखिएको आरोप सहित अदालतले पूर्पक्षका लागि कारागार चलान गरेको हो ।पक्राउ परेकामध्ये एक जनासँग भने धरौटी माग गरिएको छ । भन्सार एजेन्ट रूक्मिना सुब्बासँग पाँच लाख धरौटी माग गरिएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दिपक दाहालले जानकारी दिनुभयो ।भदौ ३१ गते सुन तस्करी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले २९ जनामाथि मुद्दा दायर गरेको थियो । काठमाडौंमा जिल्ला अदालतमा दायर मुद्दामा तीन अर्ब ५० करोड रुपैयाँ बिगो दाबी गरिएको छ ।सुरुमा राजश्वले बरामद गरेको सुन प्रकरणमा पछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरेको हो । उनीहरुविरुद्ध अवैध चोरी पैठारी, नेपाल राष्ट्र बैंक ऐन र संगठित अपराधसमेतको कसुरमा मुद्दा चलाइएको छ ।हङकङबाट ब्रेक शुमा लुकाएर ल्याएको सुन साउन २ गते राजस्व अनुसन्धान विभागको टोलीले सिनामंगलबाट बरामद गरेको थियो ।सुन तस्करी प्रकरणमा ५० जना संलग्न रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को निष्कर्ष थियो । प्रतिवादी बनाइएका २९ मध्ये २६ जना प्रहरी हिरासतमा रहेका थिएभने तीन जना फरारको सूचिमा राखिएको छ ।यसैगरी कलैया उपमहानगरपालिका वडा नम्बर १ स्थायी ठेगाना भएका भोला साह सोनारलाई फरारको सूचिमा राखिएको छ । सोनारको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।


















