बाँके – जिल्ला प्रशासन कार्यालय बाँकेले धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने काम नगर्न चेतावनी दिएको छ ।प्रशासनले बुधवार विज्ञप्ति निकालेर सामाजिक सञ्जाल र कुनै पनि माध्यमबाट त्यस्ता सामग्री प्रसारण÷प्रकाशन नगर्न÷नगराउन चेतावनी दिएको हो । बाँकेको नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच तनाव बढ्ने सङ्केत देखिएपछि मङ्गलवार दिउँसो १ बजेदेखि जारी भएको कर्फ्यु यथावत् छ ।जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख प्रशासकीय अधिकृत विष्णु शाहनीले निकाल्नुभएको विज्ञप्तिमा निषेधाज्ञाका क्रममा भएको झडपमा पाँच सुरक्षाकर्मी र १७ सर्वसाधरणसहित २२ जना घाइते भएका तथा उनीहरूमध्ये २१ जना उपचारपछि घर फर्केका र एकजनाको भेरी अस्पतालमा उपचार भइरहेको उल्लेख छ ।बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले सबै पक्षसँग संवादका लागि प्रक्रिया थालिएको तर बैठक बस्ने समय भने निश्चित नभएको बताउनुभयो ।यसैबीच नेपालगञ्जमा लागेको ‘कर्फ्यु’ का कारण नेपाल–भारत सीमा नाका जमुनाहामा अलपत्र परेका नेपालीलाई गन्तव्यतर्फ पठाउन शुरु गरिएको छ ।कर्फ्युका कारण सीमा क्षेत्रमा रोकिएका नेपालीलाई गन्तव्यसम्म पठाउन शुरु गरिएको इलाका प्रहरी कार्यालय जमुनाहाका प्रहरी वरिष्ठ नायब निरीक्षक मीनबहादुर विष्टले बताउनुभयो । उहाँका अनुसार सीमा क्षेत्रमा दुई हजारको हाराहारीमा नेपाली अलपत्र अवस्थामा रहेका छन् ।यातायात व्यवसायीसँग समन्वय गरेर सीमा क्षेत्रमा रोकिएका सबै यात्रुलाई सुरक्षित गन्तव्यसम्म पठाउन थालिएको हो । जमुनाहादेखि राँझासम्म पहिलो चरणमा झन्डै पाँच सय नेपाली पठाइएको प्रहरीले जनाएको छ । भारतबाट फर्केका नेपाली रातिदेखि नाकामा अलपत्र परेका छन् ।दशैँ नजिकिँदै गर्दा भारतमा कामका लागि गएका नेपाली फर्किने क्रम बढ्न थालेको छ । भारतको सिमला, दिल्ली, पञ्जाबलगायतका क्षेत्रमा नेपाली कामका लागि जाने गर्दछन् । कर्फ्युपछि नेपालगञ्ज बजार बिहानैदेखि शान्त रहेको छ ।