गोकुल घोरसाइने
निजगढ,निजगढ हाटबजारको दक्षिणतर्फ जमुनापैनी छेउमा छ– ‘शान्तिटोल’ । निजगढ नगरपालिका वडा नम्बर ९ मा पर्ने यो वस्ति तरकारी खेतिको लागि प्रसिद्ध छ । तीन दर्जनभन्दा बढी किसानको बसोबास रहेको वस्तिका अधिकांशले तरकारी खेति गर्दैआएका छन ।निजगढमा खपत हुने तरकारीको ठुलो हिस्सा यहीँको उत्पादनले धानेको छ ।

शान्तिटोलका किसानमध्येका एक हुनुहुन्छ – होमनाथ धिताल । ४४ वर्षिय धितालको घर वस्तिको पुच्छरमा पर्छ । तर तरकारी उत्पादक किसानको बीचमा उहाँको नाम भने सबै भन्दामाथि छ । विषाधी र रसायनिक मलको प्रयोग बिना नै खेती गर्न थालेपछि उहाँ गाउँमा नमूना किसान बन्नुभएको छ । धितालले घरमा आफैले तयार पारेको जैविक मल र विषाधीको प्रयोग गरेर तरकारी उत्पादन गर्दैआउनुभएको छ ।
विगत १७ वर्षदेखि तरकरी खेती गर्दै आउनुभएका धितालले तीन वर्षअघिबाट आर्गानिक खेती शुरु गर्नुभएको हो । रसायनिक मल र विषाधिको अत्याधिक प्रयोग गरेर खेती गर्दा फोक्सोमा पानी जम्ने र हात खुट्टाको छाला फुटने समस्या देखिएपछि चिकित्सकको सल्लाहामा आर्गनिक खेती शुरु गर्नुभएको हो ।
‘डाक्टरहरुले पनि रसायनिक वस्तु र विषाधिको प्रयोग नगर्नु भनेका छन, उहाँले भन्नुभयो, डक्टरको सल्लाहले जैविक मल र विषाधी बनाउन थप प्रेरणा मिल्यो ।’ उहाँले रसायनिक वस्तुको प्रयोगले उत्पादक किसान र सर्वसारधाण उपभोक्ता दुबैको स्वास्थ्य बर्वाद पार्नें पनि बताउनुभयो ।तरकारी खेतीमा प्रयोग गर्न अहिले उहाँ आफ्नै गोठमा ‘सुख्खामल’, ‘झोलमल’ र किरा भगाउने ‘जीवामृत’ जस्ता जैविक मल बनाउनुहुन्छ । जैविक मल र किटनासक औषधि बनाउन भने उहाँले सामाजिक संन्जालबाट सिक्नुभएको हो । ‘युटुबबाट धेरै कुरा सिकियो, उहाँले भन्नुभयो, सख्खर, गोबर, गौमुत्र, चनाको पिठोमा माटो मिलाएर ठोस र झोल मल बनाउन सकिन्छ ।’ त्यसैगरी गोबर र गौमुत्रमा बेसार, लसुन, हिङ्ग, सुर्ति, मेवा, सयपत्रि, भाङ्ग, आँप, खुर्सानी जस्ता वनस्पतिका पातबाट ‘जीवामृत’ तयार पार्न सकिने उहाँले बताउनभुयो । ‘१ सय लिटर पानीमा वनस्पतिको एक केजी पात टुक्रयाएर ४० दिनसम्म भाँडोमा बिर्को लगाएर राखेपछि ‘जीवामृत’ तयार हुन्छ, धितालले भन्नुभयो, ‘यसको प्रयोगले बालीनासक किरा विरुवाको छेउछाउमै पर्दैनन, आफै भागेर जान्छन ।’
जैविक मलले बिरुवा चाढै सप्रिएर फल पनि धेरै दिने र ‘जीवामृत’ ले शत्रुकिरा भगाएर बोट बिरुवा जोगाउने उहाँको अनुभव छ । एक वर्षमा ३० क्विन्टलभन्दा बढी मल र औषधि उत्पादन गर्ने गरेको धितालले बताउनुभयो । तरकारी खेतीमा श्रीमती पार्वतीले पनि उहाँलाई सघाउँदै आउनुभएको छ ।निजगढस्थित कुशल व्यवसाय परार्मश तालिम केन्द्रको सहयोगमा कृषि ज्ञान केन्द्रबाट एकपटक तालिमसमेत लिनुभएका धितालले आफनो निजी ७ र थप २ कठ्ठा जमिन भाडामा लिएर बर्षे र हिउदे तरकारी खेती गर्दैआउनुभएको छ । सबै खर्च कटाएर वर्षको झण्डै दुई लाख आम्दानी हुने गरेको उहाँले बताउनुभयो ।
धिताल परिवारबाट सिकेर वस्तिका भाष्कर दुलाल र अर्का एक किसानले पनि यो वर्षबाट आर्गनिक तरकारी खेती शुरु गरेका छन । ‘जैविक मल र औषधिबाट पनि उस्तै उत्पादन हुदो रहेछ, दुलालले भन्नुभयो, हामीले प्रयोग गरेको रसायनिक मलबाट भन्दा धिताल दाइले बढी उत्पादन लिनुभएको छ ।’ किसानहरुले अब हानिकारक रसायनिक मल र विषाधिको प्रयोग छोडदै जानुपर्ने र यसको लागि निजगढ नगरपालिकाले थप सहयोग र प्रत्साहन दिनुपर्ने बताउनुभयो ।

















