सिकिन्द्र साह
बारा जिल्लाको पचरौता नगरपालिका वडा नम्बर ४ बेल्दारीस्थित श्रीनेपाल राष्ट्रिय माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययन गर्ने छात्रछात्रालाई साइकल वितरण गरिएको छ । नगर प्रमुख रमेशकुमार यादवले ४४ जना छात्रालाई साइकल वितरण गर्नुभएको हो ।
कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक सकुन्तलाकुमारी यादव नगर शिक्षा संयोजक प्रमोदप्रसाद यादवलगायत जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । साईकल वितरण कार्यक्रममा बोल्दै नगरप्रमुख यादबले देशमा संघीयता आएपछि सबैको अधिकार सुनिश्चित हुदै गइरहेको बताउनुभयो । उहाँले देशको कर्णाधार भनेका विद्यार्थी भएको बताउदै देशको विकासको लागि छोरीलाई शिक्षा दिन जरुरी रहेको बताउनुभयो । उहाँले एउटी छोरी शिक्षित भए सम्पुर्ण परिवार नै शिक्षित हुने पनि बताउनुभयो । नगरप्रमुख यादवले छोरीहरुको शिक्षा र उथानको लागि प्राथमिकताका साथ काम गरिरहेको बताउदै नगरपालिकाले स्नातक गर्ने छोरीलाई प्रोत्साहन स्वरुप ५१ हजार दिने घोषणा गरेको पनि बताउनुभयो ।