कृष्णउदास खनाल

अजिरकोट (गोरखा),पाक्नै लागेको धानबाली थन्काउने बेलामा एक हप्ताभन्दा लामो समय वर्षा भएपछि गोरखाका कृषकहरु मारमा परेका छन् । हावाहुरी वर्षले धान बालीमा नोक्सान गरेपछि किसानहरुलाई भोकमरीको चिन्ता बढेको छ ।

खासगरी गोरखाको सुदूरउत्तरी भेगका कृषकहरुले लगाएको धानबाली वर्षाले ढालिदिएपछि कृषकहरु प्रत्यक्ष मारमा परेका छन् । गोरखाको अजिरकोट गाउँपालिका सहित सिरानचोक तथा छिमेकी जिल्ला लमजुङ्गको बिचौर आसपासमा लगाइएका धानबाली वर्षाले सोत्तर बनाइ दिएको छ ।

पाक्नै लागेको धानबाली बर्षाले ढालिदिएपछि यसपाली धान प्रर्याप्त मात्रामा धान उत्पादन गर्ने आफ्नो चाहना चक्नाचुर भएको अजिरकोट गाउँपालिका वडा नम्बर ३ डिहीटारका कृषक दुर्गा खनालले बताउनुभयो । उहाँले आफूले चार रोपनीमा लगाएको मसिनो जातको धानबाली वर्षाले ढालिदिएर सोत्तर बनाइदिएको गुनासो गर्नुभयो । भित्राउने तयारीमा रहेको धान बाली बर्षासँगै आएको हावाहुरीले ढालिदिएपछि यसपाली परिवार पाल्नमा समस्या हुने उहाँले बताउनुभयो ।

अर्का कृषक बिष्णुप्रसाद अधिकारीले पनि वर्षासंगै आएको हावाहुरीले धानबाली खराप नै भएको पीडा सुनाउनुभयो । सोही स्थानका ७५ बर्षीय कृषक हर्कबहादुर भुजेलले कात्तिकमा यत्ति लामो झरी परेको अनुभव आफूमा कमै रहेको र यो पटकको बर्षाले ठूलो क्षति गरेको बताउनुभयो ।

गोरखाको सो क्षेत्रका अधिकांश स्थानीयहरुको प्रमुख खाद्यबाली धान नै हो । सामान्यतया सो क्षेत्रका कृषकहरुले असारमा धान रोपाइ गरेर कात्तिकको अन्तिम साता भित्राउने गर्दछन् । धानको पटेक क्षेत्र मानिएको सो क्षेत्रमा वर्षाले क्षति गर्नुमा कृषकहरुले ठूलो बोट भएका धान लगाउनु पनि मुख्य कारण रहेको विज्ञहरुको भनाइ रहेको छ ।

कृषि बिज्ञहरुले सो स्थानमा कृषकहरुलाई छोटो बोट भएको धान लगाउन यसअघि नै सिफारिस गरेका छन् । सो ठाउँमा धेरै वर्षा हुने भएकाले पनि अग्ला बोट भएका धान लगाउन नसुझाइएको कृषि ज्ञान केन्द्र गोरखाका प्राविधिकहरुको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here