जनकपुरधाम,नेकपा एमालेको प्रदेश कमिटीको नेतृत्व चयनको लागि विभिन्न प्रदेशहरुमा निर्वाचन भइरहेका बेला मधेशमा पनि सर्वसम्मतिको सम्भावना कमजोर बनेको छ ।असोज २३ र २४ गते मधेशको राजधानी जनकपुरधाममा हुने एमाले मधेश प्रदेश कमिटीको पहिलो अधिवेशनमा आगामी नेतृत्वका लागि खुलेर कुनै पनि नेताले लबिङ गरिसकेका छैनन् । तर केन्द्रीय कमिटी सचिव तथा हाल कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठ र केन्द्रीय सदस्य तथा मधेश प्रदेश संसदीय दलका नेता सरोज यादवको फरक फरक स्वार्थको टक्कर भने यसपटक पनि देखिएको छ ।अहिलेका अध्यक्ष रामअवतार यादव भने गाउँपालिका अध्यक्ष भएकाले उहाँले फेरि उम्मेदवारी दिन पाउनुहुने छैन ।केन्द्रीय सदस्यबाट धनुषाका सञ्जीवकुमार झा (सुरज) अध्यक्षका दाबेदार हुनुहुन्छ । यद्यपि पार्टीको शीर्ष नेतृत्वको ग्रीन सिग्नल पाएमात्र उहाँ उम्मेदवार बन्नुहुने बताइएको छ । झा युवा संघका इन्चार्ज महेश बस्नेत निकट मानिनुहुन्छ ।पार्टी नेतृत्वको सिग्नल पाउँदा पोलिटव्युरो सदस्य पुरुषोत्तम पौडेल, सुमन प्याकुरेल र रामदयाल मण्डल पनि मधेशको अध्यक्षका दाबेदार हुन् ।यीमध्ये प्याकुरेलले आफ्नो पकडसमेत बलियो बनाएका छन् । तर, आफूखुशी उम्मेदवार बन्न भने उनीहरु इच्छुक छैनन् । कतिपयले प्याकुरेलको सम्भावना प्रवल भएको दाबी पनि गरेका छन् ।मधेशको नेतृत्वका लागि उपाध्यक्ष रेवती पन्तले दाबी गर्ने हुनुभएको छ । प्रदेशमा लोकप्रिय नेताको रुपमा चिनिनुभएका पन्त सर्लाहीका पूर्वअध्यक्ष हुनुहुन्छ ।त्यस्तै धनुषाका अध्यक्ष राजकिशोर यादव अर्का दाबेदार हुनुहुन्छ । उहाँलाई मधेश प्रदेश संसदीय दलका नेता सरोज यादवको समर्थन रहेको बताइन्छ ।त्यस्तै रघुवीर महासेठले धनुषाकै शिवशंकर साह (हिरा)लाई अघि सार्न चाहानुभएको छ । रघुवीर र जुली महतोको समर्थन पाए हिरा मधेशको अध्यक्षमा उम्मेदवार बन्नुहुने छ ।जनकपुरका प्रतिष्ठित व्यवसायीसमेत रहेका साह जनकपुर उद्योग वाणिज्य संघ र मधेश प्रदेश उद्योग वाणिज्य संघको अध्यक्ष भइसक्नुभएको छ । मधेश आन्दोलनमा समेत सक्रिय उहाँ एमाले प्रवेश गरेको एक वर्षमै जनकपुर उपमहानगरपालिकाको मेयरमा चुनाव लडेर दोस्रो हुनुभएको थियो ।मधेशको अध्यक्ष मधेशी नै हुनुपर्ने कतिपयले भने पनि मधेशी नेताहरुकै अन्तरविरोधले बरु पहाडियालाई अध्यक्ष बनाउनुपर्छ भन्ने लबिङ पनि उत्तिकै बलियो छ ।यसैबीच अधिवेशनको तयारी तीव्र रुपमा भइरहेको अध्यक्ष रामअवतार यादवले बताउनुभयो । मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई पछिल्लो समय आठै जिल्लाका विभिन्न कार्यक्रमहरुमा सहभागी हुनुहुन्छ । प्रदेश इन्चार्जको आफ्नो कुनै गुट र समूह नभएका कारण यसपटक विगतको जस्तो अस्वस्थ राजनीति मधेशमा नरहेको नेताहरु बताउँछन् ।भट्टराईले आफ्नो नेता केपी ओली भएकाले अध्यक्षको निर्देशन कार्यान्वयन गर्नेबाहेक मधेशमा अरु गुट बनाउने वा कसैलाई च्यापेर अर्कोलाई बोक्ने नीति नलिने बताइसक्नुभएको छ ।मधेशमा यसपटक एमालेको सचिवालय बैठकसमेत बसिसकेको छ भने अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलसहितका नेताहरुले यसबीचमा विभिन्न कार्यक्रम र बैठकमा भाग लिएका छन् ।गठबन्धनसँग चुनाव लड्नुपर्दा दोस्रो दल बनेको नेकपा एमालेका लागि मधेशले भने यस पटक ऐतिहासिक नतिजा दिएको छ । इतिहासमै पहिलो पटक एमाले मधेशको पहिलो दल बनेको छ । एमालेले प्रतिनिधिसभाका ३२ मध्ये ९ सीट जितेर मधेशको पहिलो दल बनेको छ भने प्रदेशसभामा पनि एमाले २३ सीटसहित पहिलो दल छ ।


















