गोकुल घोरसाइने

निजगढ,फल्ला र वर्षभरि खाउला भन्ने आशामा रोपेको धानमा बाला नलागेपछि बाराको निजगढ नगरपालिका वडा नम्बर ९ का किसान चन्द्रबहादुर श्रेष्ठ यतिबेला चिन्तामा पर्नुभएको छ ।वर्ष दिभरि खाने र घर खर्चसमेत चलाउने भनेर लगाएको धान थारो बसेपछि किसान श्रेष्ठ चिन्तित बन्नुभएको हो । ‘के खाएर कसरी बाच्ने होला, श्रेष्ठले भन्नुभयो, अब परिवारमा चुल्हो बाल्न पनि गाहे हुने भयो ।’ श्रेष्ठले ७ कठ्ठा खेतमा लगाएको डेल्टा रानी जातको बिउको धान नफलेको हो । मलखाद, बिउबीजन र खनजोत गर्दा प्रतिकठ्ठा ८ हजार रुपैयाभन्दा बढी खर्च भएको श्रेष्ठको भनाई छ ।किसान श्रेष्ठ मात्रै होइनन् डेल्टा रानी बिउ रोपेका किसानको धानमा बाला नलागेपछि यतिबेला निजगढका दर्जनौं किसान उस्तै चिन्तामा परेका छन । निजगढ वडा नम्बर ९ मा मात्रै १ दर्जनभन्दा बढी किसानले बिघौंमा रोपेको सो जातको धानमा बाला नलाग्ने समस्या देखिएको छ ।बिउ वितरकले अन्य जातको भन्दा बढी उत्पादन दिन्छ भनेपछि आफूहरुले डेल्डा रानी जातको बिउ राखेर धान रोपेको र अहिले एक दाना पनि नफलेपछि आफू पनि समस्यामा परेको अर्का किसान छवि चौलागाईले बताउनुभयो । ‘बोट निक्कै सप्रिएर आएको थियो, चौलागाईले भन्नुभयो, तर पसाउने बेला घर्किसक्दा एउटै बोटमा पनि बाला लागेन ।’ धानमा बाला नलागेपछि आफूहरु बोट काटेर भैसीलाई घाँस हाल्न बाध्य भएको चौलागाईले सुनाउनुभयो ।डेल्टा रानी धानको बिउ रोपेका केही किसानको धानको बोटमा बाला नलाग्ने समस्या देखिएको वितरकहरुले बताएका छन । ‘वर्षौदखि किसानले यही धान लगाएका छन, निजगढ ९ स्थित लुभिस एग्रोभेटका संचालक न्यौपानेले भन्नुभयो, तर यसपटक केही किसानको धानबाली भने बिग्रिएको छ ।’ उहाँले आफूले मात्रै ३० केजी तौलको करिव ३०÷४० बोरा बिउ किसानलाई बेचेको तर पछिल्लो लटमा भित्रिएको बिउमा मात्रै समस्या देखिएको बताउनुभयो । निजगढमा अन्य वितरकले पनि उक्त जातको धानको बिउ बिक्री गरेको उहाँले बताउनुभयो । भारतीय कम्पनीको उक्त धानको बिउ नेपाल सरकारबाट सूचीकृतसमेत भएको उहाँको भनाई छ ।निजगढ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटुवालले आफ्नो वडाका दर्जनभन्दा बढी किसानले रोपेको धानमा बाला नलागेको गुनासो आएको बताउनुभएको छ । उहाँले बाली बिग्रिएर पीडित बनेका किसानहरुलाई राहत दिने बारेमा नगर कार्यपालिकाको बैठकमा छलफल गरेर निर्णय गरिने पनि बताउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here