दुष्यन्त चौधरी
बीरगंज, २५ मंसिर । बीरगंज–१६, नगवास्थित काब्या एकेडेमीका पाँच विद्यार्थी ओभरलोडेड ई–रिक्सा दुर्घटना हुँदा घाइते भएका छन् । विद्यालय छुटेपछि बाराको विश्रामपुर गाउँपालिका– ३ मुस्हर्वा फर्किँदै गरेका विद्यार्थी बोकेको मधेस प्रदेश ०३–००१ ह ३३०७ नम्बरको ई–रिक्सा अनियन्त्रित भई सडकछेउको नालामा पल्टिर गिर्दा दुर्घटना भएको पर्सा प्रहरीले जानकारी दिएको छ ।

 

क्षमताभन्दा धेरै – २२ जना विद्यार्थी एकै रिक्सामा खचाखच भरिएको प्रत्यक्षदर्शीले जानकारी दिए । अत्यधिक ओभरलोडकै कारण सन्तुलन गुमी दुर्घटना भएको पर्सा प्रहरीका प्रवक्ताले बताए । दुर्घटनामा आलोक कुमार मण्डल, इमरान खान, आकाश चौरसिया, प्रिति चौरसिया र विकास चौरसिया घाइते भएका छन् ।

 

इमरान खान र आलोक मण्डलको अवस्था नाजुक रहेको तथा उनीहरूको उपचार बीरगंजस्थित नेशनल मेडिकल कलेजमा भइरहेको प्रहरीले बताएको छ । ई–रिक्सा चालक मुसकिम बाबूलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

 

दुर्घटनापछि अभिभावक र विद्यालय पक्षबीच जवाफदेहिताको प्रश्न चर्किएको छ । गम्भीर घाइते विद्यार्थी इमरान खानका पिता अली राजा खानका अनुसार, “२२ जना बच्चा एकै रिकसामा भरिएर हिँडिरहेका थिए, यस्तो दुर्घटना नहोला भन्नै सकिन्न,” भन्दै विद्यालय र चालक दुवै पक्षको लापरवाही रहेको बताए ।

तर काब्या एकेडेमीका प्राचार्य हरेन्द्र कुशवाहाले “अभिभावक र चालकको गैरजिम्मेवारी” दुर्घटनाको कारण भएको दाबी गरे । उनका अनुसार विद्यालयले ओभरलोड नगर्न पटक–पटक चेतावनी दिएको थियो ।

यता अर्का विद्यार्थीका अभिभावक वृजलाल पटेलले विद्यालय प्रशासनकै ठूलो लापरवाही रहेको आरोप लगाए । उनका अनुसार, पहिले विद्यार्थी कम हुँदा विद्यालयले आफैँ अटो पठाउँथ्यो । अहिले विद्यार्थी संख्या बढेपछि हामीले बारम्बार चार–पांग्रे सवारीको व्यवस्था गर्न आग्रह गर्दा पनि विद्यालयले बेवास्ता गर्‍यो । त्यसकै परिणाम आजको दुर्घटना हो, उनले आक्रोश व्यक्त गरे । दुर्घटना सम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply