नेपालमा कृषकहरुको संख्या अझै पनि बढी नै छ । कृषकहरु बढी भएपनि कृषकहरुको पीडामा भने सरकार गम्भीर भएको पाइदैन । कृषकहरुको समस्या भएपनि समाधानका सवालमा नीति आवश्यक हुनुपर्ने हो तर त्यसो भएको पाइदैन । बरु कृषकहरुको समस्यामा मजाक गर्ने परिपाटीको विकास भएको देखिन्छ ।देशमा कृषकहरुको अवस्था हेरियो भने जताजतै समस्या नै समस्या छ । उखु कृषकहरु भुक्तानी नपाएर छटपटिएको देखिन्छन । धानका त कुरा नगरौं । खाँचो परेको बेला मल खाद पाइदैन । तरकारी कृषकको पीडा पनि उस्तै छ । उत्पादन गर्छन तर बजार अभावमा खाटा खाएर बेच्नुपर्छ ।हुँदाहुँदा अब दुध उत्पादक कृषकहरुको पनि समस्या बल्झिने गरेको देखिएको छ । बाराका दुध उत्पादक कृषकहरुले आफुहरु आन्दोलनमा उत्रनुपर्ने अवस्था आउने चेतावनी दिएको भनाइ सार्वजनिक भएको छ । दुध उत्पादन गरेर बजारसम्म लैजानका लागि कृषकहरुले धेरै नै पापड पेल्न पर्ने अवस्था छ भने फेरि यिनै कृषकहरु आन्दोलनमा उत्रनु परेको खण्डमा योभन्दा लाजमर्को कुरा के नै होला र ?यसतर्फ सरकारले बेलैमा गम्भीर बन्न र साझा नीति बनाउन आवश्यक छ । खासगरी दुधको मुल्य र बजारीकरणका लागि स्थानीय सरकारहरुले बढी भुमिका निर्वाह गर्नुपर्दछ ।दुधको मुल्य निर्धारण भएपनि बिचौलियाकै कारण पनि कृषकहरु मारमा परेको देखिन्छ । स्थानीय सरकारहरुले नै दुध खरिद र बिक्रीको जिम्मा लिएको खण्डमा र गाई, भैंसी पालनलाई अझै व्यवस्थित बनाएको खण्डमा मात्रै कृषकहरुको समस्या समाधान होला ।

 

Leave a Reply