काठमाडौं,हाङझाउ एसियाली खेलकुद अन्तर्गत नेपालले पुरूष क्रिकेटको आफ्नो पहिलो खेलमा कीर्तिमानको ओइरो लगाएको छ । मंगोलियालाई २७३ रनले पराजित गर्दै नेपालले टी–२० इतिहासकै अहिलेसम्मकै ठूलो जित निकालेर विश्व कीर्तिमान बनाएको हो ।यसअघि जितको आधारमा ठूलो जित चेकको २५७ रनको रहेको थियो । झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट मैदानमा नेपालले दिएको ३१५ रनको लक्ष्य पछ्याएको मंगोलिया १३.१ ओभरमा ४१ रनमै अलआउट भयो । उसका लागि जम्यासुरेनले १० रन जोड्नु बाहेक अरु ब्याटर दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए ।बलिङमा नेपालका करण केसी, अभिनास बोहरा र सन्दीप लामिछानेले २–२ विकेट लिए । करणले २ ओभरमा १ मेडन राख्दा १ रन र अभिनासले २ ओभरमा १ मेडन राख्दा २ रन मात्र दिए । सन्दीपले पनि २ ओभरमा १ मेडन राख्दा ७ रन खर्चिए । सोमपाल कामी, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए ।त्यसअघि मंगोलियाविरुद्ध टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३ विकेटको क्षतिमा ३१४ रन जोड्यो। कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको कीर्तिमानी ब्याटिङ गरेपछि नेपालले टी(२० मा इतिहासकै ठूलो योगफल तयार गरेको हो । यसअघि टी–२० को विश्वकीर्तिमानी योगफल २७८ रन थियो । यो स्कोर चेक र अफगानिस्तानले बनाएका थिए ।यस्तै कुशल मल्लले ३४ बलमै शतक प्रहार गर्दै अर्को कीर्तिमान बनाए । यसअघिको सर्वाधिक छिटो अर्धशतको कीर्तिमान ३५ बलमा दक्षिण अफ्रिकाका डेभिड मिलर, चेकका सुदेश विक्रमाशेखर र भारतका रोहित शर्माले बनाएका थिए । नेपालको लागि सर्वाधिक छिटो शतक बनाउने कीर्तिमान पारस खड्काको नाममा ४९ बलमा थियो ।दीपेन्द्रसिंह ऐरीले ९ बलमा अर्धशकतक प्रहार गर्दै अर्को विश्वकीर्तिमान बनाए । उनले १२ बलको विश्वकीर्तिमान पनि भंग गरेका हुन् । यो कीर्तिमान भारतका युवराज सिंहको नाममा थियो। दीपेन्द्रले १९औं ओभरका पछिल्ला पाँच बलमा ५ छक्का हिर्काएका थिए । अर्को ओभरको दोस्रो बलमा पनि छक्का हिर्काएपछि उनले ६ बलमा ६ छक्का प्रहार गर्ने अर्को विश्वकीर्तिमान बनाए ।खेलमा कुशल मल्लले ५० बलमा नटआउट १३७ रन र दीपेन्द्रसिंह ऐरीले १० बलमा नटआउट ५२ रन प्रहार गरे। कुशलले ८ चौका र १२ छक्का तथा दीपेन्द्रले ८ छक्का हिर्काए। त्यसअघि कप्तान रोहित पौडेल २७ बलमा ६१ रन, कुशल भुर्तेल २३ बलमा १९ रन र आसिफ शेख १७ बलमा १६ रन जोडेर आउट भएका थिए । खेलमा नेपालले २८ छक्का र १४ छक्का प्रहार गरेको थियो ।

Leave a Reply