निजगढ,विद्यालय शिक्षा विधेयक २०८० प्रति असहमति जनाउदै शिक्षक महासंघले आह्वान गरेको काठमाण्डौं केन्द्रीत आन्दोलनमा सहभागी हुने सामुदायिक विद्यालयका शिक्षकहरुलाई बाराको कलैया उपमहानगपालिका, महागगढीमाई नगरपालिका र बारागगढी गाउँपालिकाले कारबाही गर्ने चेतवानी दिएको छ ।कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद प्रसाद साहले मंगलवार सूचना निकालेर कार्यालयको निर्देशन विपरीत विद्यालयको पठनपाठन बन्द गरेर आन्दोलनमा सहभागी हुन काठमाण्डौं जाने शिक्षकहरुलाई कारबाही गर्ने चेतवानी दिनुभएको हो । नगर प्रमुख साहले हस्ताक्षर गरेर जारी गरेको सूचनामा विद्यार्थीहरुको पढन पाउने अधिकारमाथि हनन पुग्ने गरी विद्यालय नै बन्द गरेर आन्दोलनमा नजान शिक्षकहरुसंग आग्रह गरिएको छ । विज्ञप्तिमा– ‘नगरभित्रका माध्यमिक तहका विद्यालयबाट बढीमा २ जना र आधारभूत तहको विद्यालयबाट १ जनाको दरले मात्रै आन्दोलनको लागि काठमाण्डौं जान र बाँकी अन्य शिक्षक तथा कर्मचारीहरुले विद्यालय संचालन गरी पठनपाठन सुचारु गर्न अनुरोध छ ।’ भनिएको छ ।नगरपालिकाको सूचना अटेर गरी विद्यालय बन्द गरी पठनपाठन संचालन नगर्ने विद्यालयका प्रधानाध्यापक तथा शिक्षकलाई नियमानुसार कारबाही गरिने व्यहोरो समेत विज्ञप्तिमा उल्लेख छ ।त्यसैगरी महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादव र बारागढी गाउँपालिकाका अध्यक्ष अशोक जैसवालले पनि विज्ञप्ति निकालेर विद्यालय बन्द गरेर आन्दोलनमा सहभागी हुने शिक्षकहरुलाई नियमअनुसार कारबाही गर्ने चेतावनी दिएका छन । उनीहरुले पनि मंगलवार नै सूचना निकालेर यस्तो चेतावनी दिएका हुन ।
खोले कारबाही हुन्छ :  शिक्षक अगुवाहरु
कलैया,नेपाल शिक्षक महासंघ बारामा आवद्ध शिक्षक संगसंघठनका अध्यक्षहरुले आन्दोलनको क्रममा विद्यालय संचालन गर्ने प्रधानाध्यापकहरुमाथि कारबाही गर्ने चेतावनी दिएका छन ।जिल्लाका केही पालिकाका प्रमुखहरुले विद्यालय बन्द गरेर काठमाण्डौंको आन्दोलनमा जाने प्रधानाध्यापक र शिक्षकहरुमाथि कारबाही गरिने भनेर चेतावनी दिएको भोलिपल्ट महासंघमा आवद्ध शिक्षक संघसंघठनका अध्यक्षहरुले बुधवार संयुक्त विज्ञप्ति निकालेर यस्तो चेतावनी दिएका हुन ।
नेपाल शिक्षक संघठन बाराका अध्यक्ष राजकिशोर सहनी, नेपाल शिक्षक संघठन बाराका अध्यक्ष सुरेन्द्र पासवान, एकिकृत अखिल नेपाल शिक्षक संघठन जिल्ला अध्यक्ष रोशनप्रसाद यादव, संघीय शिक्षक फोरम बारा अध्यक्ष पारसप्रसाद जयसवाल, राहत शिक्षक समिति बाराका अध्यक्ष श्यामबाबुप्रसाद यादव, नेपाल शिक्षक मञ्चका अध्यक्ष नन्दकिशोर दुबे र नेपाल राष्ट्रिय शिक्षक केन्द्रीय समिति सहसचिव विनोद कुमारले हस्ताक्षर गरेर निकालिएको विज्ञप्तिमा विद्यालय बन्द गर्ने प्रधानाध्यापक र शिक्षकहरुलाई कारबाही गरिने भनेर जिल्लाका केही स्थानीय तहका प्रमुखहरुले चेतावनी दिएको भएपनि विद्यालय संचालन नगर्न प्रधानाध्यापकहरुसंग आग्रह गरिएको छ ।महासंघको आग्रह विपरीत विद्यालय संचालन गरेको पाइएमा त्यस्ता प्रधानाध्यापक र शिक्षकहरुलाई महासंघले कारबाही गर्ने पनि विज्ञप्तिमार्फत चेतावनी दिइएको छ । विज्ञप्तिमा शिक्षकहरुले न्यायोचित माग राखेर शुरु गरेको आन्दोलनमा सहयोग गर्न अभिभावक, जनप्रतिनिधिहरु, विद्यार्थी र सम्पूर्ण सरोकारवालाहरुंसंग अनुरोध पनि गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here