राजनीतिमा लागेपछि ढिलोचाँडो फाइदा नै हुन्छ भन्ने कुरा नेकपा एमालेका नेता महमुद आलमको हत्या अभियोगमा जेलमा रहेका एमालेकै पूर्वसांसद रामचन्द्र कुशवाहा प्यासी रिहा भएपछि पुष्टि भएको छ ।

संविधान दिवसको अवसरमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले सोमबार ९९८ जना कैदीलाई आममाफी र बाँकी कैद सजाय मिनाहा दिएपछि प्यासी सोमबार वीरगन्ज कारागारबाट रिहा भएका हुन् । सविधानसभाको दोस्रो निर्वाचनमा बाराको निर्वाचन क्षेत्र नम्बर ४ बाट नेकपा एमालेका तर्फबाट संविधान सभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएको भोलिपल्ट २०७० असोज १८ गते महमुद आलममाथि परवानीपुरको चावासोती दाल मिलअगाडि गोली प्रहार भएको थियो । गोली प्रहारबाट गम्भीर घाइते आलमको २०७० असोज २४ गते काठमाडौंको अस्पतालमा उपचारका क्रममा मृत्यु भएएको थियो ।

आलम हत्या घटनाको अनुसन्धान गर्न काठमाडौंबाट समेत विशेष अनुसन्धान टोली खटिएको थियो । लामो समयको अनुसन्धानबाट घटना प्यासीकै योजनामा भएको प्रमाणको आधारमा प्रहरीले प्यासीलाई आलमको हत्या भएको तीन वर्षपछि बाराकै सिमरास्थित एक होटलबाट पक्राउ गरेको थियो ।प्यासी तत्कालीन एमालेका पूर्वसमानुपातिक सभासद थिए । क्षेत्र नम्बर ४ मा प्रतक्ष्यतर्फको उम्मेदवारका आकांक्षी प्यासीले टिकट नपाएपछि आलम हत्याको योजना बुनेको प्रहरीले बताएका थियो र यसको अदालतबाट पनि पुष्टिको प्रयास गरिएको थियो ।

तत्कालीन एमालेका पोलिटब्युरो सदस्यसमेत रहेका आलमको हत्यामा संलग्न रहेको पुष्टि भएपछि २०७३ वैशाख १५ गतेदेखि जेल सजाय काटिरहेका प्यासीलाई बारा जिल्ला अदालतले १० वर्षको जेल सजाय सुनाएको थियो । तर जिल्ला अदालतको फैसलाप्रति असन्तुष्टि जनाउदै आलम पत्नि नेजमाले २०७३ कार्तिक ५ गते उच्च अदालत अस्थायी इजलाश वीरगन्जमा पुनरावेदन दिएकी थिइन् । त्यसपछि उच्च अदालत अस्थायी इजलाश वीरगन्जका एक नम्बर इजलासका मुख्य न्यायधीश डिल्लीराज आचार्यको इजलासले ज्यान मार्ने मुख्य योजनाकार ठहर गर्दै प्यासीलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३ (४) बमोजिम जन्मकैदको फैसला सुनाएको थियो । जन्मकैदको फैसला भएका ब्यक्ति राजनीतिको आवरणमा उन्मुक्ती पाउनु राजनीतिमा लागेर अपराध गरेकाहरुलाई उपहार नै हो ।

 

Leave a Reply