सिमरा,बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका पूर्वमेयर कृष्ण पौडेल मृत अवस्थामा भेटिनुभएको छ ।
बिहीवार साँझ जीतपुरसिमरा २, सिमरास्थित आफ्नै निवासमा पूर्वमेयर पौडेल मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दधिराम न्यौपानेले बताउनुभयो ।प्रहरीका अनुसार पौडेल घरमा घोप्टो परेको अवस्थामा मृत भेटिनुभएको हो । डीएसपी न्यौपानेका अनुसार अहिले प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ । शवको प्रकृति हेर्दा पौडेलको १ दिनअघि नै मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।परिवारका सदस्य घरमा नभएको अवस्थामा पौडेल मृत फेला पर्नुभएको हो । परिवारका सबै सदस्य २ दिनअघि काठमाण्डौं गएका थिए ।बारामा सहकारी क्षेत्रमा समेत योगदान गर्नुभएका पौडेल २०७४ सालको निर्वाचनमा जीतपुरसिमराको मेयरमा निर्वाचित हुनुभएको थियो । पौडेलले कांग्रेसका कृष्णव्रत सिंहलाई हराउनुभएको थियो । पौडेल नेकपा एमाले मधेश प्रदेश समितिका सचिवसमेत हुनुहुन्छ । पौडेलको श्रीमती र १÷१ छोरा छोरी छन ।यसैबीच पौडेलको मृत्य भएको खबरसंगै जनकपुरमा जारी नेकपा एमालेको प्रथम मधेस प्रदेश अधिवेशनको बन्द सत्र स्थगित भएको छ । पौडेलको मृत्यपछि बिहीवारको लागि तय गरिएको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यहरुको निर्वाचन प्रकृया शुक्रवार बिहान ८ बजेसम्मको लागि स्थगित गरिएको निर्वाचन मण्डलका अध्यक्ष एवंम एमाले पोलिटब्युरो सदस्य अच्युत मैनालीले जानकारी दिनुभयो ।

Leave a Reply