बारा,मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनमा मधेस प्रदेशमा २६ दलको जमानत जफत भएको छ । निर्वाचनमा ३६ वटा दलको सहभागिता रहेकोमा १० वटा दलले मात्र आफ्नो जमानत बचाउन सकेका छन । समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको निर्वाचनमा कुनै राजनीतिक दलले कम्तीमा एक सिट प्राप्त नगरेमा त्यस्तो दलको जमानत जफत हुने व्यवस्था बमोजिम २६ दलको जमानत जफत भएको निर्वाचन आयुक्त सगुन शमशेर जबराले बताउनुभयो ।यस्तै, प्रत्यक्षतर्फ ७८९ जना उम्मेदवारको धरौटी जफत भएको छ । प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ बमोजिम पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ । सोही व्यवस्थाअनुसार ७ सय २४ पुरुष उम्मेदवार, ६४ महिला उम्मेदवार र एक अन्य उम्मेदवारको जमानत जफत भएको हो ।मधेस प्रदेशमा प्रत्यक्षतर्फ ६४ र समानुपातिक ४३ गरी १०७ प्रदेशसभा सदस्यका लागि निर्वाचन भएको थियो । जसमा पुरुष ६७ जना र महिला ४० जना निर्वाचित भएका हुन् । मधेस प्रदेशसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ३७ र समानुपातिक निर्वाचन प्रणालीतर्फ ३६ राजनीतिक दल निर्वाचनमा सहभागी भएका थिए । प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ पुरुष ९३२, महिला ७४ र अन्य १ गरी कूल १ हजार ७ जनाको अन्तिम उम्मेदवारी कायम भएको थियो भने समानुपातिक निर्वाचन प्रणालीमा कूल ८६३ जना उम्मेदवारको अन्तिम बन्द सूची कायम गरिएको थियो ।निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ २२ लाख २५ हजार ७४६ अर्थात ६५.७२ प्रतिशत मतदान भएको थियो जसमध्ये २१ लाख ४० हजार २३ मत सदर भएको थियो । ८५ हजार ७२३ अर्थात ३.८५ प्रतिशत मत बदर भएको थियो ।त्यस्तै, समानुपातिक निर्वाचनमा २२ लाख ३० हजार ७०१ अर्थात ६५.८७ प्रतिशत मतदान भएको आयेगले जनाएको छ । जसमध्ये २० लाख ८६ हजार २९८ अर्थात ९३.५३ प्रतिशत मत सदर भएको थियो भने १ लाख ४४ हजार ४०३ अर्थात ६.४७ प्रतिशत मत बदर भएको थियो ।



















