काठमाण्डौ – १९ औँ एसियाली खेलकुदमा पुरुष भलिबलतर्फ नेपाल बहराइनसँग पराजित भएको छ ।
चीनको हाङझाउमा भएको खेलमा नेपाल आफ्नो पहिलो खेलमा बहराइनसँग नेपाल ३–१ ले पराजित भएको हो । पहिलो सेटमा नेपाल २५–२० ले विजयी भए पनि त्यसपछि लगातार ३ सेट गुमाएको हो । दोस्रो सेटमा नेपाल २५–२०, तेस्रो सेटमा २५–१८ र चौथो सेटमा २५–१५ ले पराजित भयो ।नेपालले अर्काे खेलमा बुधवार इरानसँग खेल्नेछ । यो खेल हारेमा नेपाल समूह चरणबाट बाहिरिनेछ ।एसियाली खेलकुदको उद्घाटन समारोह सेप्टेम्बर २३ तारिखमा हुने भए पनि भलिबल, फुटबल र क्रिकेटका खेल आजदेखि नै शुरु भएका छन् । यस पटकको प्रतियोगितामा कुल ४० खेलमा एसियाका ४५ देशका १२ हजार चार सय १७ जना खेलाडीले प्रतिपर्धा गर्दैछन् । नेपालबाट २९ खेलका लागि दुई सय ५३ जना खेलाडी सहभागी छन् ।कोभिड–१९ महामारीका कारण १९ औँ संस्करणको एसियाली खेलकुद एक वर्ष पछाडि धकेलिएको थियो ।



















