वीरगञ्ज । युवाहरूको सञ्जालद्वारा सञ्चालित वीरगञ्ज सञ्जाल डटकमको पाँच वर्ष, वीरगञ्ज सञ्जाल पत्रिकाको दोस्रो तथा सञ्जाल राष्ट्रिय दैनिकको पहिलो वार्षिकोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।वार्षिकोत्सव समारोहको उद्घाटन नेपाल नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष अनुप तिवारीले गर्नुभएको थियो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले लेखन सुधार गर्दै समाजमा रहेका विकृति, भ्रष्टाचारविरुद्ध कलम चलाउन आग्रह गर्नुभयो ।पर्सामा केही पत्रकारहरूले सीमा नाकामा हुने अवैध ओसारपसार तथा तस्करी बाहेकका विषयमा समाचार नै नलेख्ने सुनाउँदै उहाँले भन्नुभयो, ‘वीरगञ्जका केही पत्रकार साथीहरू छन् उनीहरूले तस्करी बाहेक अन्य कुनै विषयमा समाचार लेख्न जानेकै छैनन्, उनीहरूको दुई वर्षको फेसबुक पोस्ट उल्ट्याएर हेर्दा तस्करी बाहेकका अन्य समाचार नै हेर्न पाइदैन ।’ त्यस्तो कार्यलाई पत्रकारिता भन्न नसकिने उहाँको भनाइ थियो ।उहाँले अब लेखनसँगै पत्रकारहरूले मल्टिमिडिया उत्पादनतर्फ लाग्न पनि आवश्यक रहेको बताउनुभयो । उहाँले अन्य पत्रकार वा संस्थाले उत्पादन गरेको भिडियो सामाजिक सञ्जालमा सेयर गर्नुभन्दा आफ्नै भिडियो उत्पादन गर्नतर्फ युवा पत्रकारहरूको ध्यान केन्द्रित हुन् आवश्यक रहेको बताउनुभयो ।कार्यक्रममा विशिष्ट अतिथिको रूपमा रेडियो विन्दासका प्रबन्ध निर्देशक तथा वीरगञ्ज सञ्जाल पत्रिकाका सम्पादक आरसी यादवले वीरगञ्ज सञ्जालले छोटो समयमा पाठक वर्गको मन जित्दै राम्रो सफलता हासिल गरेकोमा बधाई दिँदै उन्नतिप्रतिको लागि शुभकामना दिनुभयो ।कार्यक्रममा सञ्जाल राष्ट्रिय दैनिकका सम्पादक एसके पण्डित, सहसम्पादक रञ्जित यादव लगायत रौतहट समाचारदाता कुमार चन्दन, बारा जिल्ला सम्वाददाता सिकिन्द्र साह, ग्रामीण सम्वाददाता राजन बानिया, भिडियो सामाग्री उत्पादन गर्ने उपेन्द्र साह, श्रृती साह, राज पासवान, फोटो पत्रकार विजय ठाकुर, सम्वाददाता तथा प्राविधिक रामनिवास पटेललाई सम्मानित पनि गरिएको थियो ।कार्यक्रममा वडा प्रहरी कार्यालय श्रीपुरका हवलदार टेकबहादुर, नेपाल पत्रकार महासङ्घ पर्साका कोषाध्यक्ष सञ्जीव मिश्रा, प्रणय साह, श्याम कुश्वाहा, नितेश कर्ण, जाकिर हुसैन, कृष्णा यादव, जय यादव, सहन पौडेललगायतको उपस्थिति रहेको थियो ।वीरगञ्ज सञ्जालका सञ्चालक कृष्ण श्रीवास्तवको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य तथा सञ्चालन वीरगञ्ज सञ्जालका संयोजक नरेन्द्र कुमारले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here