कलैया,नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्रको गेटअगाडि स्थानीय युवाहरुको एउटा समूहले विरोध प्रदर्शन गरेको छ । बिना सूचना छिनछिनमै बिजुली काटिने गरेकाले सर्वसाधारणको दैनिकीमा असर परेको भन्दै युवाहरुले शनिवार राति विरोध प्रदर्शन गरेका हुन् ।सचेत युवाहरुको समूहले केन्द्रको गेट अगाडि ‘विद्युतका हाकिम मुर्दावाद’ जस्ता नारा लगाउँदै विरोध जनाएका थिए । कलैया उपमहानगरपालिकामा बारम्बार लाईन काटिनुको कारण नदेखाई दिनहुँ विहान, बेलुका र रातिको समयमा गरी ३÷४ घण्टासम्म लाईन काटिने गरेको स्थानीयले गुनासो गरेका छन् ।छिनछिनमा लाईन काटिदा विद्युतीय उपकरण बिग्रने गरेको स्थानीय अनिल कुमारले बताउनुभयो । “वितरण केन्द्रमा के समस्या छ, कुनै सूचना गरिदैन” तर पनि छिन्छिनमा बत्ति काटिनुको कारण देखाउन केन्द्रका प्रमुख पन्छिने गरेको कलैया उपमहानगरपालिका वडा नम्बर ४ का पूर्ववडा अध्यक्ष जट्टाशंकर सहनीले बताउनुभयो । गर्मीको समयमा पनि छिनिछिनमा बिजुली आपुर्ति बन्द हुँदा यसको प्रत्यक्ष असर दैनिक जीवनमा परेको डा. सुशिल साहले बताउनुभयो ।२४ घण्टामा २०÷२५ पटकसम्म लाईन काटिने गरेको भन्दै कार्यालयमा जनकारी गराउँदा पनि समस्या समाधान हुन नसकेको डा. साहले दुखेसो पोख्नुभयो ।यता प्राविधिक समस्या भएको भन्दै शनिवार राति वीरगन्ज–कलैया अन्तर्गत पर्ने भलुही चोकमा एउटा फेज बिग्रेकोले समस्या आएको र लामो समय विद्युत कटौती गर्नुपरेको कलैया वितरण केन्द्रका प्रमुख ऋषिकुमार वर्णवालले बताउनुभयो ।उहाँले दैनिक ३-४ पटक विद्युत कटिने समस्या जिल्लाको मात्र नभई देशकै भएको भन्दै दैनिक ३-४ पटक भन्दा बढी नकाटिएको दावी गर्नुभएको छ ।

















