हेटौडा,कान्ति लोकपथअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर १२ चौतारामा कार दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । अर्का एक जना घाइते भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।
ललितपुरबाट हेटौंडातर्फ गुडरहेको कार शनिवार बिहान चौतारानजिकै सडकबाट खसेको हो । ज्यान गुमाउनेमा रौतहटको मौलापुर नगरपालिका– ६ का १७ वर्षीय विवेक साह र बकैया गाउँपालिका– १२ का ६५ वर्षीय प्रेमबहादुर ब्लोन रहेका छन् ।
दुर्घटनामा घाइते भएका तीनै जनालाई उपचारका लागि हेटौंडा अस्पताल पु¥याइएको थियो । साह र ब्लोनको उपचारका क्रममा ज्यान गएको डीएसपी भण्डारीले बताउनुभयो । दुर्घटनामा बाराको निजगढ नगरपालिका– ६ का ३० वर्षीय सन्दीप साह गम्भीर घाइते हुनुभएको छ । उहाँको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।
यसैबीच सोही सडकको भीमफेदी गाउँपालिका– ८ स्थित कालोपहिरो भन्ने स्थानमा मोटरसाइकल दुर्घटना हुँदा निजगढका २ जना घाईते भएका छन् ।
घाईते हुनेमा मोटरसाईकल चालक निजगढ नगरपालिका– ६ लिचिटोल बस्ने बर्ष ३१ का रामबहादुर राय क्षेत्री र मोटरसाइकल पछाडि सवार सोही ठाउँका वर्ष ३१ का हरिकृष्ण अधिकारी छन । शनिवार दिउँसो साँढे २ बजे हेटौडाबाट ललितपुरतर्फ जाँदै गरेको बा ९० प ५५४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडक छेउमा रहेको सिमेन्टको पोलमा ठोक्किन गई सडकबाट करिब ३० मिटर तल खसेको मकवानपुर प्रहरीले जनाएको छ ।रायको बाँया हात र छाति तथा अधिकारीको निधार र बाँया आँखा मुनि चोट लागेको छ । दुबैजना घाईतेहरुको ठिंगन स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि हेटौंडा ल्याइएको प्रहरीले बताएको छ । दुर्घटनाग्रस्त मोटरसाइकल ईलाका प्रहरी कार्यालय ठिंगनको नियन्त्रणमा राखिएको छ ।