कलैया,नेपाली कांग्रेसको मुस्लिमतर्फको सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर विजयी हुनुभएको छ ।

सह–महामन्त्रीमा चार हजार ६ सय ८६ मत खसेकोमा मन्सुरले दुई हजार सात सय ७६ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी वकिल शेखले नौ सय पाँच मतले कम अर्थात् एक हजार आठ सय ७१ मत प्राप्त गर्नुभएको कांग्रेसको निर्वाचन समितिले जनाएको छ ।

सहमहामन्त्रीमा निर्वाचित मन्सुर सभापति शेरबहादुर देउवा समूहबाट र शेख डा. शेखर कोइराला समूहबाट उम्मेदवार बन्नुभएको हो ।

यस्तै नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सहमहामन्त्री पदमा उमाकान्त चौधरीको निर्वाचित हुनु भएको छ । शुक्रबार सकिएको मतगणनामा तेजुलाल चौधरीलाई पराजित गर्दै उमाकान्त निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

समितिका अनुसार उमाकान्त चौधरीले २७६२ पाउनु भयो भने तेजुलाल चौधरीले १८७७ मत पाउनु भएको छ । कुल ४६९६ मत खसेको थियो भने ५७ मत बदर भएको थियो ।

उमाकान्त चौधरी देउवा पक्षका हुनुहुन्छ भने तेजुलाल चौधरी डा. शेखर कोइराला पक्षका हुन् ।

उता, खस÷आर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर विजयी हुनुभएको छ । राठौरले दुई हजार पाँच सय ७६ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी देवराज चालिसेले दुई हजार ५९ मत प्राप्त गर्नुभयो । किशोरसिंहले देउवा र देवराजले कोइराला समूहबाट उम्मेदवार बन्नुभएको हो ।

नेपाली कांग्रेसको पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा डा. शेखर कोइराला समूहका बद्री पाण्डे निर्वाचित हुनुभएको छ । कांग्रेसको निर्वाचन समितिका अनुसार आज शुक्रवार भएको मतगणनामा पाण्डे दुई हजार चार सय ११ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्दी जीवनबहादुर शाहीले दुई हजार एक सय ३३ मत प्राप्त गर्नुभयो ।

नेपाली कांग्रेसको सहमहामन्त्रीमा मधेशीतर्फ महेन्द्र यादव निर्वाचित हुनु भएको छ । शुक्रबार सकिएको मतगणनामा रामकृष्ण यादवलाई पराजित गर्दै महेन्द्र निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

समितिका अनुसार महेन्द्रले २३३० मत पाउनु भयो भने रामकृष्णले १८२० मत ल्याउनु भएको थियो । यस्तै रञ्‍जित कर्णले ४७२ मत पाउनु भयो । कुल मत ४६९७ खसेको थियो भने ७५ मत बदर भएको थियो । महेन्द्र यादव देउवा प्‍यानल र रामकृष्ण यादव शेखर कोइराला प्यानलबाट उम्‍मेदवारी दिनु भएको थियो ।

यसअघि बिहीवार सहमहामन्त्रीमा महिला खुलातर्फ डिना (महालक्ष्मी) उपाध्याय, दलिततर्फ जीवन परियार र आदिवासी जनजातीतर्फ भीष्मराज आङ्देम्बे निर्वाचित भइसक्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here