जीतपुर,बाराको परवानीपुर गाउँपालिका– ५ का वडाध्यक्ष रामेश्वर साह कलवारले आफूमाथि गालीगलौज गर्नुका साथै अभद्र व्यवहार गरेको नेकपा एमालेका युवा नेता उमेश गुप्ताले आरोप लगाउनुभएको छ ।आइतवार बिहान जनता आवास कार्यक्रमको विषयमा बुझ्न जाँदा वडाध्यक्ष कलवारले गालीगलौज गर्नुका साथै आफूसँग अभद्र व्यवहार गरेको एमाले नेता गुप्ताको भनाई छ । स्थानीय प्रत्यक्षदर्शीहरूले पनि वडाध्यक्षले गुप्तालाई गालीगलौज गरेको बताएका छन ।जनता आवास कार्यक्रमअन्तर्गत सहरी विकास कार्यालयले निर्माण गरेको घरको विषयमा कुराकानी गर्न खोज्दा कलवारले दुव्र्यवहार गरेको गुप्ताको भनाई छ । ‘गत वर्षहरूमा कार्यक्रमअन्तर्गत छुटेकाहरूको घर बनाउन सकिन्छ कि भनेर सर्वेक्षणमा आएका कर्मचारीहरूसँग पहल गरिदिन अनुरोध गरेको थिएँ, गुप्ताले भन्नुभयो, वडाध्यक्ष कलवारले उल्टै अमर्यादित बोल्नुका साथै गालीगलौज र दुव्र्यवहार गर्नुभयो ।’जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट निर्वाचित कलवारले यसअघि पनि पटक– पटक गुण्डागर्दी शैली प्रस्तुत गर्दै आएको गुप्ताको भनाई छ । छुटेकाहरूको घर बनाउन सहयोग गर्नुको सट्टा वडाध्यक्ष कलवारले म गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षभन्दा पनि माथि हुँ, मैले भनेको कुरा मात्र मेरो वडामा लागू हुन्छ भनेर गुण्डागर्दी शैलीमा दुव्र्यवहार गर्न खोज्नुभयो गुप्ताले थप्नुभयो ।एमाले नेता गुप्ता गाउँपालिका उपाध्यक्ष सुगान्धी देवी कनुइनका पती हुनुहुन्छ ।यता वडाध्यक्ष कलवारले गुप्ताले उल्टै आफूसँग दुव्र्यवहार गरेको बताउनुभएको छ । घर निर्माणका लागि गुप्ताले जबरजस्ती केही व्यक्तिहरूको नाम राख्न खोजेपछि विवाद भएको उहाँले स्वीकार गर्नुभयो ।


















