काठमाण्डौं,अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेस्सी बसेको कतार विश्वविद्यालयको एउटा कोठालाई संग्रहालय बनाइने भएको छ । कतारमा भएको फिफा विश्वकप २०२२ का क्रममा मेस्सी बसेको विश्वविद्यालयको कोठा नम्बर बी २०१ लाई सानो संग्रहालयमा परिणत गरिने विश्वविद्यालयको भनाइलाई उद्धृत गर्दै द पेनिन्सुला कतारले लेखेको छ ।कतार विश्वविद्यालयले अर्जेन्टिनी टिम बसेका कोठाहरुको फोटो सामाजिक सञ्जालमा शेयर गर्दै आएको थियो । त्यही क्रममा मेस्सी बसेको कोठा नम्बर बी २०१ को फोटो शेयर गर्दै त्यसलाई संग्रहालय बनाउने घोषणा गरेको हो । तर त्यो संग्राहलय अहिलेकै अवस्थामा सञ्चालन गर्ने कि क्याम्पस परिसरमा अन्त कतै लिएर राख्ने भन्ने खुलाएको छैन ।अर्जेन्टिनी फुटबल टोली महँगा पाँच तारे होटलमा नबसेर कतार विश्वविद्यालयका कोठामा बसेको थियो । डेली मेलका अनुसार आफ्नो पारम्पारिक ‘बिफ बारबिक्यु’ (एक प्रकारको गोरुको सेकुवा) बनाउन सजिलो हुने भएकाले अेर्जेन्टिनी फुटबल टिम त्यहाँ बसेको थियो ।विश्वविद्यालयले राखेको एउटा भिडियोमा मेस्सी बसेको कोठामा उनीहरुकै जर्सीको जस्तो सेतो र नीलो रङ्ग लगाइएको छ । यस्तै हलमा विश्वकप विजयी हुँदाका तस्बिरहरु झुण्ड्याइएका छन् । यस्तै जर्सी र खेलाडीहरुका अटोग्राफ लेखिएका छन् ।फिफा विश्वकप २०२२ को विजेता अर्जेन्टिना हो । फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिना तेस्रोपटक विश्विकप विजेता बनेको हो ।


















