काठमाण्डौ – सत्तारुढ नेकपा माओवादी केन्द्रले शनिवारदेखि ‘जनतासँग माओवादी’ विशेष रूपान्तरण अभियान सञ्चालन गरेको छ ।पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहान ९ बजे भर्चुअल माध्यमबाट अभियानको उद्घाटन गर्नुभएको थियो । गएको साउन तेस्रो हप्ता काठमाण्डौमा बसेको माओवादीको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले पार्टी र सरकारको सन्देश हरेक घरमा पुर्याउने उद्देश्यसहित अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । पार्टी अध्यक्ष प्रचण्डले अभियान शुभारम्भको घोषणा गरेसँगै देशभरका छ हजार सात ४३ वडामा एकसाथ अभियान सञ्चालन गर्ने गरी तयारी गरिएको माओवादीले जनाएको छ ।अभियानअन्तर्गत कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायका क्षेत्रमा गरेका कामबारे जानकारी गराउने तयारी छ । अभियानका क्रममा नवीकरण र विस्तारका माध्यमबाट पार्टी सदस्यता सङ्ख्या आठ लाख पुर्याउने गरी पार्टी र जनवर्गीय सङ्गठन मोर्चाका सबै कमिटीका बैठक सम्पन्न गरी स्वचालित कमिटी तयार पारिने माओवादीले जनाएको छ ।माओवादीले अभियान अवधिभर केन्द्रीय पदाधिकारीलाई अन्तरप्रदेश, स्थायी समिति सदस्य र केन्द्रीय सदस्यलाई अन्तरजिल्ला तथा प्रदेश सदस्यलाई अन्तरपालिका खटाउने गरी कार्यक्षेत्र विभाजन गरेको छ । उनीहरूलाई अस्थायी बसोबास स्थलमा समेत कार्यक्षेत्र तोकी पठाइसकिएको छ ।माओवादीका अनुसार अभियान तीन चरणमा सञ्चालन हुनेछ । पहिलो चरणमा बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण र विस्तार, अभिलेख व्यवस्थापन, उत्पादन र प्रचारसँग सम्बन्धित संयन्त्र तथा योजना निर्माण, विभिन्न तहका पार्टीका कार्यालय व्यवस्थापन, पार्टीभित्रका अन्तरविरोधको पहिचान र समाधानको पहल, कार्यकर्ता व्यवस्थापनका लागि कोष स्थापना गरिनेछ ।दोस्रो चरणमा पाँच घण्टे अन्तरपार्टी स्कुल, विषयगत अन्तरक्रिया, विषयगत तालिम, गोष्ठी, जनप्रशिक्षण, जन भेला, टोलटोलमा युवा भेला, स्थानीयस्तरका सरकारी तथा सामाजिक सङ्घसंस्थासँग अन्तरक्रिया गरिने जनाइएको छ ।तेस्रो चरणमा जनप्रदर्शन, जनसङ्घर्ष, जनसेवासहित जनपरिचालनका कार्यक्रम सञ्चालन गरिनेछ । यस्तै, सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानमा जनसमर्थन तथा ऐक्यबद्धता एवं टोलसभा गरिने माओवादीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here