सिमरा,बाक्लो हुस्सु र शितलहर बढेपछि जीतपुरसिमरा उपमहानगरपालिका र वीरगञ्जमहानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिएको छ ।चिसो अत्यधिक बढेपछि जीतपुरसिमरा उपमहानगर अन्तर्गतका विद्यालयमा उपमहानगरपालिकाले पुष २४ र २५ गतेका लागि बिदा दिएको हो ।

शिक्षा अधिकृत हरिशप्रसाद भट्टले सूचना जारी गरेर चिसोका कारण विद्यार्थीको स्वास्थ्यमा पर्ने प्रतिकूल प्रभावलाई ध्यानमा राख्दै विद्यालयमा विदा दिएको जनाउनुभएको छ । भट्टका अनुसार वर्षे बिदाबाट कट्टा हुने गरी बिदा दिइएको हो ।
यसैबीच वीरगञ्ज महानगरपालिकाले बढ्दै गएको चिसोका कारण विद्यालयहरुमा तीन दिनका लागि जाडो विदा दिन आग्रह गरेको छ ।

मंगलवार सूचना जारी गर्दै महानगरपालिकाले विद्यार्थीहरूको स्वास्थ्यमा चिसोका कारण पर्ने प्रतिकूल प्रभावलाई ध्यानमा राख्दै पुस २४ गते देखि पुस २६ गतेसम्म विद्यालयहरुमा विदा दिन अनुरोध गरेको हो ।विद्यार्थीहरूलाई गृहकार्य दिएर घरमै अध्ययन गर्ने वातावरण बनाउन पनि विद्यालयहरूलाई निर्देशन दिइएको छ । जाडो विदा वर्षे विदाबाट कटौती गरिने भएकाले पठनपाठनको कार्यतालिका नियमित गर्न विद्यालयहरूले यसलाई सकारात्मक रुपमा लिन महानगरपालिकाले आग्रह गरेको छ ।महानगरपालिकाका शिक्षा अधिकृत हरि राउतद्वारा जारी सूचनामा विद्यालयहरूको प्रशासनिक कार्य नियमित रुपमा सञ्चालन गर्न भनिएको छ ।

Leave a Reply