निजगढ,निजगढ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको कार्यसमितिमा अध्यक्ष पदको लागि २ जनासहित विभिन्न पदमा १९ जनाले मनोनय पत्र दर्ता गरेका छन ।५ जना पदाधिकारीसहित ९ सदस्यीय कार्यसमितिको लागि आगामी भाद्र ३० गते हुने निर्वाचनको क्रममा शनिवार मनोनयन पत्र दर्ता गरिएको हो ।निर्वाचन समितिका संयोजक ऋषव काफ्लेले दिएको जानकारी अनुसार अध्यक्ष पदमा वर्तमान अध्यक्ष सुदर्शनप्रसाद कोइराला र टेकबहादुर भण्डारीले मनोनय पत्र दर्ता गराएका छन भने उपाध्यक्षमा रमेश अर्याल र इन्द्रप्रसाद दहाले उम्मेदवारी दिएका छन । कार्यसमितिको सचिव र कोषाध्यक्ष पदमा भने १÷१ जनाको मात्रै उम्मेदवारी परेको छ । सचिवमा यतिराज सापकोटा र कोषाध्यक्षमा गीता भट्टराईले मात्रै उम्मेदवारी परेपछि उनीहरु निर्विरोध चयन हुनेभएका छन । सहसचिव पदमा पनि २ जनाको उम्मेदवारी परेको छ । बुद्धीमान शाही र मनोज सापकोटाले सहसचिव पदमा उम्मेदवारी दिएका हुन ।त्यसैगरी अनिवार्य महिला सदस्यमा सुमित्रा खडका, अमृता पाण्डे, सुश्रीराजकुमारी सिटौला, हरिमैया उपाध्याय पोख्रेल, कमला रेग्मी, सुनमाया लोप्चनले मनोनयन पत्र दर्ता गराएका छन । खुल्ला सदस्यतर्फ धु्रवप्रसाद धिताल, बलराम मगर, कैलाशकुमार चौधरी, यज्ञबहादुर राउत र बोधप्रसाद दङ्गाले उम्मेदवारी दर्ता गराएका छन ।लेखा समितिको संयोजकमा पनि एकजनाको मात्रै उम्मेदवारी परेपछि निर्विरोध चयन हुने भएको छ । सो पदमा रोशनकुमार तिमल्सिनाको एकल उम्मेदवारी परेको हो । लेखा समितिमा २ जना सदस्यहको लागि भने ४ जनाले मनोनयन पत्र दर्ता गरेका छन । राजकृति कुवर, संगीता तिमल्सिना (थापामगर), तेजबहादुर चौलागाई र अरुण लामाले लेखा समिति सदस्यमा मनोनयपत्र दर्ता गरेका हुन ।निर्वाचन समितिका संयोजक काफ्लेका अनुसार उम्मेदवारहरुको विरोधमा आइतवार उजुरी दिने समय निर्धारण गरिएको र उजुरीमाथि छानबिन गरी ४ बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै सोमवार साँझ ५ बजेसम्म उम्मेदवारहरुले आफनो मनोनय पत्र फिर्ता लिने समय निर्धारण गरिएको र भदौं १९ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेर २० गते उम्मेदवारहरुलाई चुनाब चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको संयोजक काफ्लेले जानकारी दिनुभयो ।संस्थाको कार्यसमिति निर्वाचनमा निजगढका राजनीतिक दलहरुबीच भएको सहमतिको आधारमा उम्मेदवारहरुको मनोनयन पत्र दर्ता भएको हो । नेकपा एमाले, नेपाली कांग्रेश, माओवादी केन्द्र, राप्रपा र एकीकृत समाजवादीले आपसी सहमतिको आधारमा उम्मेदवारी दिएका हुन ।आगामी भदौं ३० गते हुने निर्वाचनले एक जना अध्यक्षसहित १÷१ जना उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सहसचिव र ४ जना सदस्य तथा लेखा समिति संयोजकसहित ३ जना सदस्य चयन गर्नेछ । निर्वाचनमा ५ हजार १ सय १२ मतदाता रहेका छन ।खानेपानी संस्था निजगढको निर्वाचनमा मनोनयपत्र दर्तायता, अध्यक्ष पदका उम्मेदवार सुदर्शन कोइरालाले सबै दलको सहमतिमा कार्यसमितिको चयन हुनु सकरात्मक पक्ष भएको भन्दै अघिल्लो कार्यकालमा अधुरो रहेको काम पुरा गरेर निजगढको सबै क्षेत्रमा खानेपानीको सुविधा विस्तार गर्न आफूले उम्मेदवारी दिएको बताउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here