निजगढ,निजगढ नगरपालिका वडा नम्बर १ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिंगौलमा खानेपानीको समस्याले विद्यार्थीहरुको पठनपाठन प्रभावित बनेको छ । विद्यालयमा खानेपानीको अभाव भएपछि विद्यार्थीहरु कक्षा समयमा पनि विद्यालय बाहिर गाउँमा होटल र सर्वसाधारणको घरमा गएर पानी खान बाध्य बनेका छन । केही विद्यार्थीहरुले भने घरबाटै बोतलमा पिउने पानी लिएर विद्यालय आउने गरेका छन ।‘विद्यालयमा पिउने पानी छैन, एकजना विद्यार्थीले भने, तिर्खा लागेपछि कक्षा चल्दाचल्दै बीचैमा छोडेर हिडनुपर्छ ।’ उनले विद्यालयका विद्यार्थीहरुले वर्षौदेखि खानेपानीको समस्या बेहोर्दै आएको बताए ।विद्यालयमा एउटा गैह्सरकारी संस्थाले खानेपानीको असुविधाको लागि पानी शुद्धीकरण प्लान्ट जडान गरेको छ । तर पर्याप्त पानी नहुँदा सो प्लान्ट पनि प्रयोगमा आउन सकेको छैन । पानीको अभावमा विद्यालयका विद्यार्थीहरुलाई शौचालय प्रयोगमा समेत समस्या भएको छ ।विद्यालयमा खानेपानी आपूर्ति गर्दै आएको बरमबाबा खानेपानी उपभोक्ता समितिले पर्याप्त पानी उपलब्ध गराउन नसक्दा विद्यालयमा खानेपानीको समस्या रहेको विद्यालयका प्रधानाध्यापक रामवरण यादवले बताउनुभयो । उहाँले समितिले बिहान बेलुका २,२ घण्टाको दरले मात्र पानी वितरण गर्ने गरेको तर विद्यालयमा दैनिक कम्तिमा ८ घण्टा पानी आवश्यक पर्ने बताउनुभयो । विद्यालयमा पिउने पानी सुविधा उपलब्ध गराउन खानेपानी उपभोक्ता समिति र वडाका जनप्रतिनिधिहरुसंग छलफल भइरहेको र केही दिनभित्र पानी सुचारु गरिने बताउनुभयो ।उता निजगढ नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मंगले लोप्चनले आफूले खानेपानी समितिमा विद्यालयमा खानेपानी सुचारु गर्न पटकपटक आग्रह गरेको र हाल खानेपानीको बोरिङ्गमा प्राविधिक समस्या उत्पन्न देखिएकोले पानी आपूर्ति गर्न नसकिएको बताउनुहुन्छ । उहाँले छिटोभन्दा छिटो विद्यालयमा देखिएको खानेपानीको समस्या समाधान गरिने पनि बताउनुभयो ।कक्षा १२ सम्म पठनपाठन हुने विद्यालयमा ७ सय ५० भन्दा बढी विद्यार्थी अध्ययन गर्दैआएका छन ।

Leave a Reply