कलैया,राष्ट्रिय स्वतन्त्र पार्टी बारा जिल्ला अध्यक्ष चन्दन स्वर्णकारले भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा भएको हिंसात्मक घटनासंग जोडर आफ्नो पार्टीलाई जोडेर प्रचार गरिएकोमा आपत्ति जनाउनुभएको छ ।अध्यक्ष स्वर्णकारले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी तथ्य र प्रमाणको आधारमा घटनाका दोषि र बिना प्रमाण आरोप लगाउनेहरुमाथि पनि कारबाही गर्न माग गर्नुभएको हो ।

‘भाद्र २४ गतेको घटना पश्चात् राजनीतिक प्रतिशोधको लागि निरन्तर रुपमा मिथ्या आरोप, शंका वा राजनीतिक लाभहानीको बलमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई उक्त घटनासँग जोडेर बदनाम गराउने कार्य भएकोप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’विज्ञप्तिमा अगाडि भनिएको छ, ‘हामीले यसअगाडि पनि सम्बन्धित सरकारी संयन्त्रलाई भाद्र २३ र २४ को घटनासँग सम्बन्धित तथ्य र प्रमाणको आधारमा हुने अनुसन्धान, जाँचबुझ एवम् कानुनी प्रक्रियामा पुर्ण सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गरिसकेका छौं र रास्वपाका कुनै सदस्य त्यस्ता कार्यमा संलग्न रहेको पाइएमा आवश्यक कारबाहीका लागि सहजीकरण गर्न तत्पर छौं ।’

छानविन समितिले समेत भाद्र २४ को अपराधिक घटनामा संलग्नलाई कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने जानकारी गराएको अवस्थामा सम्बन्धित पक्षले यसमा आवश्यक तदारुकता समेत देखाउनु पर्नेमा राष्ट्रिय स्वतन्त्र पार्टी बारा स्पष्ट रहेको विज्ञप्तिमा भनिएको छ ।विज्ञप्तिमा नेपाली नागरिकको एक थोपा पनि रगत पनि नबगाइ शान्तिपुर्ण तवरबाट संविधान बमोजिम निर्माण भएको राष्ट्रिय स्वतन्त्र पार्टी कुनै पनि अवस्थामा हिंसा, लुटपाट एवम् आगजनी लगायतका कुनै पनि अपराधिक एवम् ध्वंसात्मक कार्यलाई किमार्थ स्वीकार नगर्ने र त्यस्ता कार्यमा संलग्न हुनेहरूको पक्षपोषण समेत नगर्ने दाबी गरिएको छ ।

‘कुनै पनि आन्दोलनको बहानामा हिंसात्मक वा ध्वंसात्मक गतिविधि, लुटपाट एवम् आगजनी हुनु राम्रो होइन्, विज्ञप्तिमा अगाडि भनिएको छ, यस्ता अपराधिक गतिविधिको सिकार भएका सम्पूर्णको पक्षमा पार्टीको सहानुभूति र साथ रहेको छ ।’

‘जेन्जी आन्दोलनका कारण देशमा उत्पन्न परिस्थिति पश्चात उक्त घटनाको सन्दर्भमा सत्यतथ्य छानविनका लागि सरकारले पुर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको तथ्य सर्वविदितै छ, भाद्र २३ गतेको नरसंहार र २४ गतेको तोडफोड, लुटपाट एवम् आगजनी दुबै घटना आमनेपाली जनसमुदायको लागि निकै पीडादायी क्षणको रुपमा रहेको छ ।’ विज्ञप्तिमा लेखिएको छ ।

Leave a Reply