वीरगञ्ज,पछिल्लो तीन महिनामा पर्सा जिल्लामा ६ जनाले नेपाली नागरिकता परित्याग गरेका छन् ।
चालू आर्थिक वर्षको पहिलो ६ महिनामा कुल १२ जनाले नेपाली नागरिकता परित्याग गरेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
कार्तिक, मंसिर र पुस महिनामा दुई-दुई जना गरी ६ जनाले नागरिकता परित्याग गरेका हुन् । यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा थोरै बढी हो, जब पाँच जनाले नागरिकता परित्याग गरेका थिए । चालू आवको साउन महिनामा चार जना, भदौ र असोजमा एक÷एक जनाले नागरिकता परित्याग गरेका छन् ।प्रशासनका अनुसार विदेशमा बसोबास गर्ने उद्देश्यले नेपाली नागरिकता परित्याग गर्ने प्रवृत्ति बढ्दो छ ।त्यस्तै, तीन महिनाको अवधिमा पर्साबाट नयाँ नेपाली नागरिकता लिनेहरूको संख्या उल्लेखनीय रूपमा बढेको छ । कार्तिक महिनामा ८९१, मंसिरमा ९५६, र पुस महिनामा १,०५३ जनाले नयाँ नागरिकता लिएका छन ।जिल्ला प्रशासन कार्यालय पर्साले दिएको जानकारीअनुसार चालू आर्थिक वर्षको पहिलो छ महिनामा २,९०० जनाले नयाँ नागरिकता लिएका छन् भने २,०७९ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् ।नयाँ भवनबाट सेवा दिन थालेपछि नागरिकतासम्बन्धी प्रक्रिया छिटो र प्रभावकारी भएको सेवाग्राहीहरूले बताएका छन् ।

















