निजगढ,पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बाराको पथलैयादेखि सिराहाको कमला नदीसम्म चार लेनको सडक बन्न लागेको छ ।तत्कालीन सोभियत सङ्घको सहयोगमा २०२१ सालमा निर्माण भएको दुई लेनको पथलैयादेखि सिराहाको कमला नदीसम्मको सडक खण्डलाई विश्व बैङ्कको लगानीमा स्तर वृद्धि गरेर चार लेनको बनाउन लागिएको हो ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई विश्व बैङ्कले दिन लागेको ८८ अर्ब ऋण सहयोगबाट चार लेनको सडक निर्माण गर्न लागिएको बताइएको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत एक सय ३० किलो मिटर सडकलाई कमला–ढल्के र ढल्के पथलैया दुई प्याकेजमा गरेर अहिले सडकको डिपिआर निर्माण गर्ने कार्य भइरहेको कमला–ढल्के–पथलैया सडक योजना प्रमुख दीपेन्द्र पाण्डेले बताउनुभयो ।योजना अन्तर्गत निर्माण हुने एक सय ३० किलो मिटर सडक जङ्गल क्षेत्रमा २७ मिटर चौडाइ र सहरी क्षेत्रमा ५० मिटरको चौडाइ रहने पाण्डेले बताउनुभयो ।सडक विभाग, वैदेशिक सहायता कार्यान्वयन महाशाखाले पथलैया, निजगढ, चन्द्रनिगाहपुर लगायतका सात स्थानमा सार्वजनिक सुनुवाइ गरेर स्थानीयबाट राय, सुझाव समेत लिइएको पाण्डेले बताउनुभयो । बस्ती र सहरी क्षेत्रमा ५० मिटर लिइने जग्गामा चार लेनको सडकसँगै नाला, सडक पेटीसहित साइकल लेनसमेत निर्माण गर्ने गरी कार्यहरू अगाडि बढाइएको पाण्डेले बताउनुभयो ।अन्य स्थानहरूमा सडकको दुबैतर्फ सडक निर्माण गरिने छ । एउटा लेन ३.५ मिटरको हुने उनले बताए । सडकको दुवै छेउमा रुख बिरुवा र फूल रोपिनेछ । दायाँबायाँ साढे दुई मिटरको अतिरिक्त पिच गर्ने योजना रहेको सार्वजनिक सुनवाइ कार्यक्रममा बताइएको थियो । सडकमा गुड्दै गरेको सवारी बिग्रिए त्यसलाई पार्किङ गर्न सक्ने व्यवस्था समेत गरिने पाण्डेले बताउनुभयो ।यस सडक खण्डमा रहेको बागमती र कमला नदीको पुलबाहेक सानो ठूलो गरेर ७२ वटा पुलहरू पनि निर्माण गरिने बताइएको छ ।साइकल लेन र फुटपाथ छोपिने गरी नाला रहने उक्त सडकको सबबेस २० सेन्टिमिटर र माथिल्लो फिनिसिङ लेबल १४ सेन्टिमिटर रहने बताइएको छ । हाल सञ्चालनमा रहेको कज वे लच्का हटाइने र आवश्यक स्थानमा बक्स कल्भर्ट निर्माण गरिने योजना पनि रहेको छ ।पर्यावरणीय हिसाबले यो क्षेत्र संवेदनशील रहेकाले सडकबाट वारपार गर्ने जङ्गली जनावरका लागि ‘एनिमल पास पुल’ पनि निर्माण गर्ने योजना सडक विभागको रहेको छ । विद्युत्, पानी, नेटवर्कको पाइपलाइन र वातावरण संरक्षणको विविध पक्षमा अध्ययन गरी डिजाइन तयार गरिएको कार्यक्रममा सहभागी विज्ञ तथा प्राविधिकले बताएका छन् । सडक सीमाभित्रको संरचना हटाउने, रुख कटान गर्ने, पोल सार्ने सहितका काम सडक विभागले अगाडि बढाइसकेको छ ।सडक विभाग वैदेशिक सहायता महाशाखाका एसडिई वन्दना आचार्यले पूर्व–पश्चिम महेन्द्र राजमार्गको पथलैयादेखि कमला खोलासम्मको एक सय ३० मिटर लामो दुई लेनको सडकलाई स्तर वृद्धि गरेर चार लेनको बनाउन ठेक्का लगाउने प्रक्रिया सुरु गरिएको बताउनुभएको छ । विश्व बैङ्कको ऋण सहयोगमा सडकलाई चार लेन बनाउन लागिएको पनि उहाँले बताउनुभयो । ३० हजार ८ सय ७१ साना ठूला रुख कटान गर्ने, प्रति रुख दश वटाका दरले ३ लाख ८ हजार २ सय ७० बिरुवा रोपिने विभागले जनाएको छ ।लगभग ६० वर्ष पहिला निर्माण गरिएको पूर्व–पश्चिम महेन्द्र राजमार्ग सवारी साधनको चापले साँघुरो बन्दै गएपछि र सवारी दुर्घटनाको कारणले ठूलो सङ्ख्यामा बर्सेनि भइरहेको मानवीय क्षतिमा कमी ल्याउन चार लेनको सडक बनाउन वर्षौँदेखि विज्ञहरूले सुझाव दिँदै आएका थिए ।

Leave a Reply